८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


टोकियो ओलम्पिकमा दुई नेपाली खेलाडीको पराजित




१०साउन ०७८,टोकियो । टोकियो ओलम्पिकमा सहभागी दुई नेपाली खेलाडीले हार व्यहोरेका छन् । शनिबार सम्पन्न खेलमा नेपालकी कल्पना परियार र सोनिया भट्ट पराजित भएकी छिन् । सुटिङकी परियारले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा आफैँले बनाएको राष्ट्रिय कीर्तिमान भङ्ग गरिन् । उनले महिला १० मिटर एयर राइफलमा ६१६ दशमलव ८ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि उनको नाममा ६१४ दशमलव ५ अङ्कको कीर्तिमान थियो ।
जुडोकी भट्टले महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार व्यहोरिन् । टोकियो ओलम्पिकमा नेपालबाट ४ जना खेलाडी सहभागी छन् ।
टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । शाहले मङ्गलबार, सिंहले बुधबार तथा चौधरीले शुक्रबार आआफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछिन् ।
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई÷दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइलैण्ड एक एक स्वर्ण जित्दै पदक तालिकाको चौंथो स्थानमा रहेका छन् । यस्तै सर्विया, बेल्जियम, स्पेन, भारत, नेदरलैण्डस्, रोमानिया, चाइनिज ताइपेई र टयूनिसिया एक÷एक रजत पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन् । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म २८ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ५ : ३८ बजे