२६ पुस २०८१, शुक्रबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इमाडोल लामाटार सडक विस्तार अन्तिम चरणमा



फाइल तस्विर

१० साउन ०७८, ललितपुर । बिस्तारका क्रममा रहेको इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण शुरु भएको चार वर्ष बित्न लाग्दा सात किमी लम्बाइको यो सडकमा झण्डै ६० मिटर मात्रै बनाउन बाँकी छ । गोदावरी खोला नजिकै रहेको एउटा घर भत्काउन ढिलाइ हुँदा यो सडक सम्पन्न हुन नसकेको काठमाडौँ चक्रपथ बिस्तार आयोजनाले जनाएको छ ।
केही समय अगाडि महालक्ष्मी नगरपालिकाले यो घर हटाएको थियो । अहिले यो क्षेत्रमा सडक निर्माणका लागि पर्खाल लगाउने काम जारी रहेको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । उनले भने, “अहिले अरु काम सकिएपछि वर्षापछि कालोपत्र गर्न सकिन्छ ।”

यो सडक २० मिटर चौडाइमा बिस्तार गर्ने गरी ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।
सडकमा पैदलयात्रु मार्ग र ढलसमेत निर्माण गर्ने सम्झौतामा उल्लेख थियो । तोकिएको मापदण्डानुसार चौडाइमा सडक बिस्तार गर्ने निर्माणस्थल खाली गर्न नसकिएकाले लामो समयसम्म पनि निर्माण अघि बढ्न नसकेको हो । ठेक्का सम्झौता गरिएपछि नै निर्माणस्थल खाली गर्न थालिएको थियो ।
यसपछि निर्माणस्थलमा रहेका रुख, बिजुलीको खम्बालगायतका विभिन्न संरचना हटाउन नसकिएको आयोजनाले जनाएको छ । सर्बाेच्च अदालतलले बिस्तारका सडकमा जतिजति सडक उपलब्ध हुन्छ त्यसैमा कालोपत्र गर्ने दुई वर्ष अगाडि आदेश दिएको थियो । आयोजनाले यसैका आधारमा बिस्तार अघि बढाइरहेको प्रमुख अधिकारीले जानकारी दिए ।
यो सडक निर्माणको जिम्मेवारी डाँफे समानान्तर जेभी, आशिस सिएम ड्रागन जेभी र लामा समानान्तर जेभीले संयुक्तरुपमा पाएका थिए । आयोजनाले झण्डै पाँच वर्ष अगाडिदेखि काठमाडौँ उपत्यकाका १० सडक र दुई सडक पुलको विस्तारको काम शुरु गरेको थियो । तीमध्ये अधिकांश स्थानमा तोकिएको अवधिमा निर्माण सम्पन्न हुन सकेको थिएन । बिस्तारका सडकमध्ये त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको सडक मात्रै सम्पन्न भएर डिभिजन सडक कार्यालयमा हस्तान्तरण भएको छ । बिस्तार शुरु भएका बिजुलीबजार र तीनकुने पुलमध्ये बिजुलीबजार पुल सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने तीनकुनेस्थित पुलको ठेक्का सम्झौता रद्द भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १ : ५५ बजे