२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा निषेधाज्ञा कडाइ गर्ने तयारी




२५ साउन ०७८, काठमाडौं । पछिल्लो केहि दिनयता कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा पार्ने कि भन्ने विषयमा छलफल सुरु गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले साउन २७ पछि निषेधाज्ञा थप गर्ने र त्यसपछिको निषेधाज्ञा अलि कडा पार्ने कि भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको बताए । उनका अनुसार यसका लागि तीन जिल्लाका सीडीओ मंगलबार छलफल गर्दैछन् । यसअघि घोषित निषेधाज्ञाको अवधि यही साउन २७ गते मध्यराति सकिँदै छ।

कुन कुन क्षेत्रमा कडाइ गर्ने भन्ने विषयमा चाहिँ अहिल्यै केही तय भइनसकेको, भोलि छलफलपछि मात्रै भन्ने सकिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।भोलिको छलफलपछि केही क्षेत्रमा कडाइ गर्ने वा अहिलेकै अवस्थामा छाड्ने टुंगो लाग्ने उनको भनाइ छ।  नेपालमा आइतबार मात्र दुई हजार ५४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ५५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आइतबार काठमाडौँ उपत्यकामा मात्र ९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाभित्र देशभर दुई हजार ५४८ मा सङ्क्रमण देखिएकामा काठमाडौँ उपत्यकामा मात्र ९५१ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट उक्त सङ्ख्यामा कोराना सङ्क्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै ७४० जना काठमाडौँका छन् । यस्तै भक्तपुरमा ५६ र ललितपुरमा १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १ : ३४ बजे