१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको धोविघाटमा प्रधानमन्त्री देउवाले गरे ज्यापु समाजको भवन उद्घाटन




५ भदौं ०७८, ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार ललितपुर महानगरपालिका ४ बागडोलमा नवनिर्मित ज्यापु समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन गरेका छन् ।
उनले वृद्धावस्थामा कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस् भन्दै यदि त्यस्तो स्थिति आएमा ज्येष्ठ नागरिकहरूलाई उचित सुविधाको व्यवस्था गर्न सरकारले सक्दो सहयोग गर्ने बताएकधा छन् । प्रधानमन्त्री देउवाले भने, “ज्येष्ठ नागरिकहरूलाई राज्यले सम्मान गर्छ । उहाँहरूको सम्मानका लागि राज्यका तर्फबाट गर्नुपर्ने अन्य सहयोगका लागि सरकार प्रतिबद्ध छ ।”
तीन वटै तहका सरकार, स्थानीयवासी एवं समाजसेवीसहित मित्रराष्ट्र भारतको सहयोगले ज्येष्ठ नागरिक लागि निर्माण भएको सुविधासम्पन्न भवन सञ्चालनमा पनि सरकारले सघाउने उनले दृढता व्यक्त गरे ।
गृहमन्त्री बालकृष्ण खाँणले ज्येष्ठ नागरिकको सुरक्षाका लागि भवन निर्माण हुँदा मुलुकका धेरै मानिसलाई ऊर्जा प्राप्त भएको बताउनुभयो । उनले भने, “यस भवनमा परिवारविहीन भएर रहन परेका आमाबुवालाई कसरी स्याहारसुसार एवं सम्मान गर्ने भनेर सदैव ध्यान दिन अनुरोध गर्दछु ।”
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पवित्र उद्देश्यका साथ वृद्धवृद्धाको सेवामा सुविधायुक्त आश्रयस्थल निर्माण गरी ज्यापु समाजले राष्ट्रिय भूमिका निर्वाह गरेको बताए । उनले भन्नुभयो, “हामी तीन वटै तहका सरकार मिलेर यसमा आवश्यक वस्तुको व्यवस्था गर्नुपर्नेछ ।”
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जीवित इतिहासका धरोहर ज्येष्ठ नागरिकले भवनबाट राम्रो सुविधा पाउने अपेक्षाका साथ प्रदेशले भवन निर्माणमा रु दुई करोड ९१ लाख सहयोग गरेको जानकारी दिइन् ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उमेर ढल्केर साहराविहीन भएका नागरिकलाई छिमेकी मुलुकका तर्फबाट ज्येष्ठ नागरिक भवन निर्माणमा रु पाँच करोड सहयोग गर्न पाउँदा निकै भाग्यमानी महसुस भएको बताए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजको भवन र सोमा बस्ने मानिसको व्यवस्थापन गर्न आर्थिक चुनौती रहँदा सबैले सहयोग गर्ने अपेक्षा लिएको धारणा राखे । उनले भने, “विसं २०६९ फागुन ४ गते शिलान्यास गरेको यस भवन आठ दशमलव पाँच रेक्टर स्केलको भूकम्प आउँदा पनि नभत्किने तवरले निर्माण गरेका छाँै ।”
समाज यलका अध्यक्ष चन्द्र महर्जनले धेरै समाजसेवीको सहयोगमा भवन निर्माण भएको बताए । उनले भने, “यसै वडा निवासी स्व अष्टमान महर्जनले दान गर्नुभएको एक रोपनी १३ आना जग्गासहित रु ५० लाखमा हामीलाई रु पौने १४ करोड थप गरी चारतारे होटल तवरको सुविधासम्पन्न आधुनिक घर निर्माण प्रेरणा मिल्यो ।” समाजका उपाध्यक्ष सन्तमान महर्जनले मानवको वृद्धावस्था अति नै कष्टकर हुने हुँदा सोको कल्याणका लागि भवन निर्माण गरेको बताए ।
जग्गा दान गर्ने महर्जनको शालिकसमेत प्रधानमन्त्री देउवाले अनावरण गर्नुका साथै भवन निर्माणमा रकम तथा जग्गादान गर्ने महर्जनका पत्नी नुछेंमाया तथा छोरा किरण महर्जन अनि मुख्यमन्त्री शाक्य, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसाल, बागमती प्रदेशका मुख्यमन्त्री शाक्य, महानगपालिकाका प्रमुख महर्जन, भारतीय राजदूत क्वात्रालगायत दातालाई प्रधानमन्त्री देउवाले दोसल्लासहित सम्मान गरेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ८ : २४ बजे