८ भदौं ०७८, बौद्ध । प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयाका दिन विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा मनाइने रोपाइँजात्रा सीमित मानिसका बीच सम्पन्न गरिएको छ ।
बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा बौद्धमा रहेका सङ्घ संस्थाले सक्रियरुपमा मनाउने सांस्कृतिक महत्वको रोपाइँजात्रा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना फैलन सक्ने जोखिम कायमै रहेकाले सीमित मानिसका बीच मनाइएको हो ।
आजको जात्रामा एक वर्षभित्र निधन भएका परिवारबाट दुई जना सदस्यलाई मात्र सहभागी गराइएको थियो । जात्रामा भीड बढ्न नदिन बिहान ११ बजेदेखि नै बौद्धका सबै नाका बन्द गरिएको थियो । दिवङ्गत भएका परिवारका दुई सदस्यलाई पास दिएर ३ बजेदेखि रोपाइँजात्रामा सहभागी गराई ५ बजे समापन गरिएको हो । बौद्ध चैत्य परिसरमा एक वर्ष अघिदेखि दिवङ्गत भएका परिवारका सीमित सदस्यलाई मात्र छिराएर सांस्कृतिक जात्रा सम्पन्न गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।
यस वर्ष बौद्ध क्षेत्रमा ४० जनाको निधन भएको तथ्याङ्क प्राप्त भएको समितिले जनाएको छ । चालीस परिवारका सीमित सदस्य, थोरै सङ्ख्यामा बाउसे र रोपाहारका बीच रोपाइँजात्रा गरिएको हो । जात्राका समयमा सर्वसाधारणलाई बौद्ध चैत्य परिसरमा प्रवेशमा रोक लगाइएको अध्यक्ष लामाले बताए । जात्रामा सहभागी हुनेले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भौतिक दूरीसमेत कायम गरेका थिए ।
जात्राको विधिअनुसार बौद्ध चैत्य एक पटक घुमाएर जात्रा सम्पन्न गरिएको छ । विगत वर्षमा यो जात्राका क्रममा सांस्कृतिक झाँकीसहित बौद्ध–चुच्चेपाटी–चाबहिल–महाँकाल–तीनचुले–जोरपाटी हुँदै पुनः बौद्धमै आएर सकिन्थ्यो । यस वर्ष भने सीमित लाठे र रोपाहारका बीच लाखे नाच नचाएर जात्रा सम्पन्न गरिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि शुरु हुने गाईजात्राको दोस्रो दिन बौद्धमा रोपाइँ जात्रा गर्ने प्राचीन परम्परा छ । गाईजात्रा आठ दिनसम्म अर्थात् भाद्र कृष्ण अष्टमीसम्म मनाइन्छ । भाद्र शुक्ल तृतीयाका दिन जयबागेश्वरीमा रोपाइँजात्रा गरिन्छ ।
८ भाद्र २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया