१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जयवागेश्वरीको आकाशे पुल डेढ वर्षदेखि अलपत्र



९ भदौ ०७८,काठमाडौं । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरअघि काठमाडौं महानगरपालिकाले निर्माण शुरु गरेको आकाशेपुल डेढ वर्षदेखि अलपत्र बनेको छ ।

पशुपति क्षेत्रस्थित महानगरपालिका–८ जयवागेश्वरीबाट पशुपतिनाथ मन्दिर जान धेरै मानिसले आवतजावतका लागि सडक पार गर्न सहज होस् भनी निर्माण शुरु गरिएको आकाशेपुल बिजुलीको तार भूमिगत नहुँदा अलपत्र बनेको वडाध्यक्ष दीनेशकुमार डंगोलले जानकारी दिए ।

महानगरपालिकाले रू. ७७ लाखको लागतमा पुल निर्माण गर्न लागेको हो । कोरोना महामारी शुरु हुनुअघिसम्म महिनामा लाखौँ मानिस पशुपतिनाथ मन्दिर दर्शनमा आउने गरेका थिए ।

गत साउन महीना, तीज, बालाचतुर्दशी, महाशिवरात्रिजस्ता पर्वमा एकै दिन लाखौँ भक्तजन यही बाटो भएर पशुपतिनाथ मन्दिर जान्छन् । धेरै मानिस ओहोरदोहोर गर्ने स्थानमा आकाशेपुल नहुँदा दूर्घटनाको जोखिम बढेको छ ।

सडकमा सवारी चाप भएका बेला सिफलबाट पशुपतितिर जान लामो समय कुर्नुपरेको पशुपति क्षेत्र जान लाग्नुभएका यात्रु रमेशप्रसाद शिवाकोटीको गुनासो छ ।

तार भूमिगत गर्न रू. १२ लाख बजेट लाग्ने लागत स्टमेट अनुमान गरिए पनि बजेट व्यवस्थापन हुन नसक्दा डेढ वर्षदेखि आकाशे पुल अलपत्र बनेको वडा कार्यालयले जानकारी दिएको छ । पुल निर्माण गर्ने जिम्मेवारी पाएको रिजेन्सी कन्स्ट्रक्सनले सूचना पाटीसमेत नराखी काम गरेकामा स्थानीयवासी शारदाप्रसाद वैद्यले आपत्ति जनाए ।

निर्माण व्यवसायीले कति समय, लागतमा आकाशेपुल निर्माण गर्ने भनी राख्नुपर्ने सूचना पाटी नराख्दा के बनाउन लागेको हो भन्ने जानकारी नपाएको स्थानीयवासीको गुनासो छ । महानगरपालिकाले ‘साइड क्लियर’ नभइ ठेक्का गर्दा डेढ वर्षदेखि पुल अलपत्र भएको हो ।

अलपत्र पुलका कारण पैदलयात्रुलाई हिँड्नसमेत असहज हुने गरेको छ । एकातिर अलपत्र पुल र अर्कोतिर फलामलगायत केही अप्ठ्यारा निर्माण सामग्री थुपार्दा पैदलयात्रीलाई अप्ठ्यारो भएको हो । निर्माण सामग्रीकै कारण दूर्घटनाको जोखिमसमेत बढेको छ ।

महानगरपालिका निर्माण विभाग प्रमुख राम थापा आकाशेपुल बन्ने स्थानमाथि नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सनलाइन भएकाले काम रोकिएको बताउँछन् । प्राधिकरणको पुरानो बानेश्वर शाखालाई तार भूमिगत गर्न आवश्यक बजेट दिन्छौँ भनी पत्राचार गरेकामा तत्कालीन कार्यालय प्रमुखले काम अघि बढाउन लागेकामा सरुवा भएपछि काममा ढिलाइ भएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  २ : ३५ बजे