१३ पुस २०८१, शनिबार | Sun Dec 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाउँ-सुनाकोठी सडक: ६ महिना नपुग्दै उप्कियो कालोपत्र



ललितपुरको सुनाकोठी सडक खण्ड कालोपत्र भएको छ महिना नहुँदै भत्किने क्रममा । तस्बिरः सञ्चिता घिमिरे, रासस

-सञ्चिता घिमिरे-

११ भदौं ०७८, ललितपुर । कालोपत्र गरेको ६ महिना नपुग्दै चापागाउँ-सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्र भएकोमा केही महिनामा सडक पुनः पहिलेकै अवस्थामा पुगेको हो । २० मिटर चौडा कायम गर्ने गरी ठेक्का सम्झौता भएकोमा विस्तार गर्न नसकिएपछि उपलब्ध चौडाइमै कालोपत्र भएको थियो । उपलब्ध पाँचरछ मिटर चौडाइमा कालोपत्र भएको थियो ।

सडकको चौडा कम भएर नाली नबनाइएकाले पानी जम्दा कालोपत्र चाँडै उप्केको काठमाण्डौ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडकमा भएको ३०-४० वर्ष पुराना पाइप फुटेर पानी जम्दा पनि कालोपत्र उप्काएको हुन सक्ने आयोजना प्रमुख गुरु अधिकारीले बताए। उनले भने, ‘एकातिर वर्षा र अर्कातिर पाइप फुटेकाले सडकमा पानी भरिएर कालोपत्र उप्केको छ ।

पानीले माथिल्लो भाग र सवबेस (ग्राभेल) दुवै तहलाई भिजाएकाले चाँडो कालोपत्र उप्केको आयोजनाले जनाएको छ । टाखेल-सुनाकोठीसम्मको सडक गएको वर्षामा जुन अवस्थाको थियो अहिले पनि त्यही अवस्थामा पुगेको छ । सडक बिग्रिएपछि निर्माण व्यवसायीसँग पत्राचार गरिएको आयोजनाले जनाएको छ । निर्माण कम्पनीले त्रुटि भएको स्वीकार गरेको र ती कम्पनीलाई आफ्नै खर्चमा कालोपत्र गर्न भनेको प्रमुख अधिकारीले बताए। पानी रोकिएपछि बिग्रिएको खण्डमा सरकारले थप खर्च नगर्ने उनले बताए । उनले भने, ‘व्यवसायीले आफ्नै खर्चमा निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।’

साँघुरो सडक र वरपर पुराना घर भएकाले सडक निर्माण गर्दा रोलिङ (ग्राभेल थिच्न प्रयोग गरिने धेरै तौभ भएको (हेभी) उपकरण) प्रयोग गर्न नसकिएको आयोजनाले जनाएको छ । ग्राभेल (बेस) र त्योभन्दा तल्लो तह (सवबेस) लाई रोलिङ गर्नुपर्ने भए पनि त्यो नगरि कालोपत्र भएको थियो । स्थानीयवासीले रोलिङ गर्दा कम्पनीले पुरानो घरलाई असर पार्ने वा भत्किन्छ भनेर रोलिङ गर्न नदिएको उनले बताए। उनले भने, ‘ग्राभेल खँदिलो (कम्प्याक्ट) हुन नपाएपछि प्वाल–प्वालबाट पानी छिरेको थियो ।’

पुनः कालोपत्र गर्दा सडक पहिले जसरी उप्कन नपाओस् भनेर स्थानीयवासीसँग छलफल गरेर मात्रै काम अघि बढाइने भएको छ । फेरि पनि रोलर गर्न नदिएमा सडकको ठाउँ-ठाउँमा पानी पस्ने भएकाले छलफलबाटै समाधान खोज्न लागिएको प्रमुख अधिकारीले बताए। अब निर्माण गरिने सडकका बीच भागमा पानी तैरने गरी पोलिथिन पाइप राखिने भएको छ । पाइपको माथिल्लो आधा भागमा प्वाल पारिने आयोजनाले जनाएको छ । सवबेस र बेसको पानी चुहिएर प्वालबाट पाइपमा जाने र पछि पाइपबाट बाहिर निकाल्ने उनले बताए । उनले भने, ‘तैरने पानीलाई नालीमा पठाएपछि सडकमा त्यसले असर गर्दैन ।’

निर्माण भएको छोटो समयमा नै सडक कालोपत्र उप्कनुमा निर्माण व्यवसायीको थोरै गल्ती भए पनि त्योभन्दा बढी अरू कारण भएको प्रमुख अधिकारीले बताए। सडकमा पानी तैरने ठाउँ नभएकाले जमेर बिग्रिएको देख्न सकिन्छ । उनले भने, ‘जहाँ-जहाँ पानी जमेको छ, त्यही सडक बिग्रिएको छ ।’ लामो समयसम्म अवरोध भएको सडक निर्माण भएको केही समयमा नै भत्किएपछि आयोजनाले अब के गर्ने भनी पालिका, प्रदेश र प्रतिनिधि सभाका सांसदसँग छलफल गरिरहेको छ । पहिले पनि ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र त्यहाँका वडासँगको समन्वयमा निर्माण अघि बढाइएको थियो । उनले भने, ‘अहिले पनि समन्वयमा नै काम हुनेछ ।’

निर्माण व्यवसायी आफैँले सडक मर्मत गर्दा सरकारी खर्च नबढ्ने देखिन्छ । निर्माण सम्पन्न भएको एक वर्षसम्म निर्माण कम्पनीले त्रुटि सच्याउने अवधि हुन्छ । त्यही अवधिमा सडक भत्किएकाले त्यसको जिम्मेवारी व्यवसायीको भएको आयोजनाले जनाएको छ । सडकमा ठाउँ-ठाउँमा खाल्डैखाल्डा हुँदा सडक प्रयोगकर्ता कष्टकर यात्रा गर्न बाध्य भएका छन् । तत्काल कालोपत्र गर्न नसकिने भए पनि ग्राभेलले टाल्ने योजना बनाइएको छ ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले अहिले कालोपत्र नै गर्न नसकिए पनि ग्राभेल गरेर खाल्डा पुरे सडक हिँड्नका लागि सजिलो बनाइने बताए । यस सडकमा वर्षायामपछि कालोपत्र गर्ने काम सुरु गर्ने सहमति भएको उनले बताए। आयोजनाले २० मिटर चौडा र दायाँ-बायाँ नाली बनाउने भने पनि त्यो नहुँदा सडकमा चाँडो समस्या आएको उनको भनाइ छ । उनले भने, ‘स्थानीयवासीलाई मुआब्जा दिन नसकिएपछि सडक ठूलो बनाउन सकिएन र चाँडै कालोपत्र भत्कियो ।’

सडक निर्माण दशैँ-तिहारमा सकिने प्रमुख महर्जनले बताए। सडक साँघुरो भए पनि नाली खोलेर सडक निर्माण गरिने उनले बताए। ‘आयोजनाको समन्वयमा नै केही दिनमा सडक मर्मत सुरु हुँदैछ’, उनले भने, ‘दुईरचार दिन घाम लागेमा काम अघि बढाइनेछ ।’ ढोलाहिटीबाट चापागाउँसम्मको सडकमा खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र ठाउँमा एक लेनको सडक मात्रै छ । चापागाउँ, ठेचो, सुनाकोठीलगायतका ठाउँमा सडक साँघुरा छन् ।

झन्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएको थियो । एउटा प्याकेजमा आव २०७३ मा र अरू दुई प्याकेजमा आव २०७४-०७५ मा ठेक्का सम्झौता भएको थियो । ठेक्काको अवधि सकिएको भए पनि निर्माणस्थल खाली नभएकाले अवधि थप हुँदै आएको छ । गएको आवमा कोभिडका कारण अवरोध पुगेको सडकमा ६ महिना समय थप्ने सरकारले निर्णय नै गरेको थियो । चालु आवमा पनि सरकारले ६ महिना समय थप्ने निर्णय गरिसकेको छ ।

सडक विभागले झन्डै पाँच वर्ष पहिले उपत्यकाका व्यस्त सडकमध्ये ८९ किमी सडक विस्तार गर्ने कार्यक्रम तय गरेको थियो । त्योभन्दा पहिले विस्तारका क्रममा रहेका सडक सम्पन्न गरी ५३ किमी सडक विस्तारको काम अघि बढाउन विभिन्न खण्डमा ठेक्का सम्झौता भएको थियो । त्रिपुरेश्वर-कलङ्की-नागढुङ्गा १२ दशमलव ४८ किमी, चावहिल-जोरपाटी-साँखु १२ किमी, जोरपाटी-सुन्दरीजल सात किमी, लगनखेल-सातदोबाटो आठ सय मिटर, इमाडोल-सिद्धिपुर-गोदावरी खोला तीन किमी, कर्मनासा-हरिसिद्धि चार किमी, ढोलाहिटी-सुनाकोठी-चापागाउँ सात किमी, नख्खु-भैँसेपाटी-बुङ्मती साढे तीन किमी सडक विस्तारको क्रममा रहेको छ । तीमध्ये अहिलेसम्म नागढुङ्गा-त्रिपुरेश्वर-नागढुङ्गा सडक मात्रै सम्पन्न भएको छ ।

रासस

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ४ : ३६ बजे