१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनको कृष्ण मन्दिर यस वर्षपनि कृष्णाष्टमीमा नखुल्ने



फाइल फोटो

१३ भदौं ०७८, ललितपुर ।  ललितपुर पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ । हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले कोरोना महामारीलाई ध्यानमा राखी सोमबार सर्वसाधारणलाई मन्दिर छिर्न नदिने भएको हो ।
यो वर्ष पनि गत वर्ष झैँ कोभिड सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए । यही भदौ १ गते ललितपुरका विभिन्न गुठी तथा जात्रा अनि पर्व चलाउने व्यक्तिसँग बसी यो वर्ष आउँदा पर्वमा मात्र विधि गर्ने छलफल भइसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

सोमबार मनाइने कृष्ण पर्व साङ्केतिकरुपमा मात्र अघि बढाउने कुरामा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको पौराणिक कथन छ । कृष्ण मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्वसम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्वहस्तकला परिषद्ले ३५ औँ कला नगरीसमेत घोेषणा गरिसकेको छ । पाटन दरबार क्षेत्रको कलाकारितालाई हेरेर कतिपयले यसलाई सुन्दरताको सहरलेसमेत सम्बोधन गर्ने गरेको पाइन्छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ४ : ३६ बजे