१८ भदौं ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको विहीबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र उनको खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गर्नुभएका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो ।
विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय हुनुभएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित भएका थिए । विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित भएको वडा सदस्य मधुसुदन प्रधानले जानकारी दिए । पञ्चायतकालमा पनि उनी वडा सदस्य पदमा निर्वाचित भएका थिए ।
नर्भिक अस्पतालबाट शुक्रबार बिहान श्रद्धाञ्जलिका लागि उनको शव वडा कार्यालयमा लगिने छ । दिउँसो पशुपति आर्यघाटमा लगी अन्तिम संस्कार गरिने कार्यक्रम तय गरिएको पनि वडा सदस्य प्रधानले बताए ।
१८ भाद्र २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया