११ पुस २०८१, बिहिबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपामा डेढ महिनादेखि थुप्रिएको फोहोर उठ्न थाल्यो



२० भदौ ०७८, बनेपा । बनेपा बजारमा करिब डेढमहिनादेखि थुप्रिएको फोहर उठ्न थालेको छ । फोहर व्यवस्थापनका लागि नगरपालिकासँग ठेक्का सम्झौता गरेको ग्रिनपिस इन्भारोमेन्ट प्रालिले अरु ठाउँमा व्यवस्थापन गर्ने गरी शनिबारदेखि फोहर उठाउन थालेको हो ।

“नगरपालिकासँग सम्झौता गरिएको संस्थाले सिसडोलका अलावा अन्य ठाउँमा व्यवस्थापन गर्ने गरी काम थालेकाले अब बनेपा बजारको सबै फोहर उठ्छ”, नगरपालिका–७ का वडाध्यक्ष वर्ण शाक्यले भने, “शनिबारबाट फोहर उठाउन थालिसकेको छ ।” फोहर व्यवस्थापनको जिम्मा पाएको संस्थाले शनिबार बनेपाको चार दोबाटो चोकस्थित अरनिको राजमार्ग छेउमा थुपारेको फोहर उठाएको हो ।

ग्रिापिस इन्भारोमेन्ट प्रालिका उत्तर सिं लामाले अब बनेपा नगरपालिकाभित्रका सबै फोहर उठाउन थालिएको जानकारी दिए । पहिलादेखि उठाएको फोहर व्यवस्थापन गर्न जिम्मा लिएको संस्थाले नुवाकोटको सिसडोलमा लगेर फाल्ने गर्दै आएकोमा पछिल्लो समयमा त्यहाँ जाने बाटो अवरुद्ध भएपछि समस्या आएको थियो । अब अर्को संस्थालाई आफूले व्यवस्थापनको जिम्मा दिएकाले फोहर उठ्न थालेको उनको भनाइ छ ।

अहिले फोहर उठाउनका लागि दैनिक ७-८ वटा गाडी प्रयोग भइरहेको जनाइएको छ । यहाँबाट उठाएको फोहर यसअघि सिसडोलस्थित ल्याण्ड फिल साइडमा लगेर फाल्ने गरेकोमा अब वैकल्पिक रुपमा काठमाडौँको मूलपानीमा रहेको नेपाल स्वच्छ वातावरण नामक संस्थासँग सात वर्षका लागि सम्झौता गरेर दिने सहमति भएपछि फोहर उठाउन थालेको लामालेबताए ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  २ : २५ बजे