११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन दरबार सङ्ग्रहालय बुधबारदेखि खुल्ने



सुन्दरी चोक ।

२१ भदौं ०७८, ललितपुर । पाटन दरबार क्षेत्र मङ्गलबजारमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आउँदो बुधबारदेखि खुला गरिने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आज सोमबार एक सूचना जारी गरी यही भदौ २३ गतेदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका साथै अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी दिएका छन् ।
दरबार क्षेत्र खुलाउने कुरा अघि बढेसँगै आफूहरु तयारी अवस्थामा रहेको पाटन दरबार सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताएका छन् । उनले भने, “मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द गरेका थियाँै ।” आगन्तुकबाट उठेको रकमले कार्यालयमा कार्यरत कर्मचारीका साथै भित्र लाग्ने व्यवस्थापन खर्च जुटाउन सहयोग पुग्ने भएको लाखेको भनाइ छ ।
मुलुकमा कोभिड भित्रिनुअघि दैनिक लगभग चारदेखि पाँच सय आगन्तुकले सङ्ग्रहालय भ्रमण गर्ने गरेको लाखेले जानकारी दिए । “यस समय प्रत्येक दिन आधा स्वदेशीका साथै यसै सङ्ख्यामा बाँकी विदेशी पर्यटकले समेत सङ्ग्रहालय अवलोकन गर्ने गर्थे”, उनले थने ।
चार महिना अघिदेखि बन्द रहेको पाटन सङ्ग्रहालय नजिकैको दरबार स्क्वायर क्षेत्र भने सधँैजसो हरेक उमेर समूहका मानिसले भरिभराउ हुने गरेको देखिन्छ । दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५औँ कला नगरी घोेषणा गरिसकेको छ ।
यो क्षेत्रमा मुलुकमै शिखर शैलीमा ढुङ्गै ढुङ्गाबाट निर्मित २१ गजुर भएको कृष्ण मन्दिर अनि भीमसेन मन्दिर तथा चारनारायण मन्दिर र नरसिंह मन्दिर रहनाका साथै अशोक स्तम्भ र हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन् । पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छ ।
पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीहरुको पुरानो थलो पनि हो । पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ । काठमाडौँ उपत्यकाका तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो शहरका रूपमा परिचित छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १० : १६ बजे