६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अब गोदावरीमा सिसी क्यामेरा



२८ भदौं ०७८, ललितपुर। गोदावरी नगरपालिकाले सिसी क्यामेरा जडान गर्ने काम अघि बढाएको छ । विभिन्न किसिमका गतिविधिबारे जानकारी लिन सो काम थालिएको हो ।

गोदावरीको थेचो, चापागाउँ, ठैब र गोदावरीसम्म सिसिटिभी क्यामेरा जडान गर्न थालिएको नगरपालिकाका सूचना अधिकारी निश्चल महर्जनले जानकारी दिए । उनले भने, “जानकारी लिन बाडेगाउँ प्रहरी चौकी र महानगरीय प्रहरी वृत्त चापागाउँमा हेर्ने व्यवस्था मिलाइने छ ।” गोदावरीमा ३२ क्यामेरा जडान गर्न लागिएको छ । सो कार्यका लागि नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ । लेलेमा समेत क्यामेरा जडान गर्ने योजना रहेको महर्जनले बताए ।

यसअघि गोदावरी–४, ५, ११ र १४ वडामा क्यामेरा जडान भइसकेको छ । यस्तै वडा नं ३ गोदावरीको बस बिसौनीदेखि कुण्डसम्म व्यक्तिगत खर्चमा ३० थान सडक बत्ती जडानको काम भइरहेको गोदावरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष राज घिमिरेले बताए । उनले भने, “कोरोना सङ्क्रमण घटेसँगै चहलपहल बढेकाले बत्ती जडान गर्न लागिएको हो ।” कुण्ड नजिकै राष्ट्रिय वनस्पति उद्यान रहेको छ । सो क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै जाँदा बत्ती जडान आवश्यक छ ।   गोदावरी जैविक विविधताले भरिपूर्ण पर्यटकीयस्थल हो । नेपालको मृग अध्ययन केन्द्रसमेत गोदावरीमा छ । सो क्षेत्रमा चार नारायणमध्ये माइला विशङ्खुनारायण र सतीदेवीको माथिल्लो ओठ पतन भएर उत्पति भएको सन्तानेश्वर महादेवको मन्दिरसमेत छ । गोदावरीमा हालै सनराइज सम्मेलन केन्द्र निर्माण गरिएको छ । यहाँ बज्रबाराही र स्वेतबाराहीको मन्दिर पनि छ । तिलेश्वर धाम, गोदावरी कुण्डका साथै सिद्धेश्वर महादेवको मन्दिरसमेत यहीँ अवस्थित छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।