२८ भदौ ०७८, ललितपुर । ललितपुरको वाग्मती गाउँपालिका ४ प्युटारमा हाट बजार सञ्चालनका लागि ट्रस निर्माण गरिएको छ ।
स्थानीयस्तरमा उत्पादित फलफूल, तरकारी र अन्य बाली खरिद बिक्री गर्न सहजताका लागि उक्त १० कोठे ट्रस बनाइएको हो । स्थानीय उत्पादन सङ्कलन गरी बिक्री गरिने वडाध्यक्ष नारायणबहादुर घलेले बताएका छन् । उनले भने, “हामीले स्थानीयवासीको आर्थिक अवस्थामा सुधार ल्याउन ट्रस निर्माण गरेका हौँ । दशैँअघि सातामा एक दिन बजार सञ्चालन गर्नेबारे छलफल गरिरहेका छाँै ।” यो बजारमा स्थानीयस्तरमा उत्पादित कोदो, फापर, गुन्द्रुक, चिया, कफी, मकै, धान, मासु, फलफूल, तरकारी, लत्ताकपडालगायत राखिने घलेले जानकारी दिएका छन् ।
यस बजारमा किनमेलका लागि ललितपुरबाहेक मकवानपुरवासीसमेत आउने स्थानीय दिपक घिमिरेले बताएका छन् । वाग्मतीको झण्डै २५ प्रतिशत खेतीयोग्य जमीनमा तरकारी र फलफूल उत्पादन गर्ने योजना बनाएको छ ।
हाट बजार सञ्चालनमा आए स्थानीय किसानलाई उत्पादन बिक्री वितरणका लागि सहज हुने कृषि विकास शाखाका प्रमुख सुवास खनालले बताए । उनले भने, “तरकारी भण्डारणका लागि तीन ठाउँमा सङ्कलन केन्द्र र पाँच हजार किलो क्षमताको शीतभण्डारको निर्माणको योजना छ ।”
वाग्मतीले यही भदौ ४ गतेदेखि सोही वडामा तरकारी सङ्कलन गरेर मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारमा बिक्री गराउनुका साथै भदौ ११ गतेदेखि गाउँपालिकामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । वाग्मतीले चालू आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा भूगोल र हावापानी सुहाउँदो खेती गरी स्थानीयवासीलाई आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेको थियो ।
वाग्मतीले ‘कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि
वाग्मती गाउँपालिकाको समृद्धि’ भन्ने नारालाई आत्मसात गर्दै यो वडामा कृषि हाट बजार सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले कृषिलाई थप आधुनिकीकरण, यान्त्रीकरण र विशिष्टीकरण गरी उत्पादकत्व तथा उत्पादन वृद्धि गर्नाका साथै बजार व्यवस्थापन, बाँझो जमिन उपयोग र जनशक्ति व्यवस्थापन जस्ता कार्य सञ्चालन गर्ने नीति तथा कार्यक्रम अघि बढाएको छ । रासस
प्रतिक्रिया