२९ भदौ ०७८,काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गोे नगर प्रवेश गराइएको छ ।
समितिले दिएको साइतअनुसार आज बिहान १०ः३४ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ । भदौ २३ गते बुधबार बिहान १०ः५२ मा वनयात्रा गरी बेलुकी ७ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो । लिङ्गोलाई असोज २ गते बिहान ६ः५१ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत दिइएको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
इन्द्रध्वजोत्थान गरेपछि असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइने छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने छ । असोज ८ गते नानिचा यात्रा गरिने छ । त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढालिने छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिने छ ।
कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो । यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत सुरु गरिएको छ । तीनै वटा रथ सुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ ।
प्रतिक्रिया