८ असोज ०७८, भक्तपुर । लागूऔषध कारोबार गर्दै आएका ६ जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। पक्राउ परेकाको साथबाट मोटरसाइकल, मोवाइल र आगूऔषधसहितका सामग्रीसमेत बरामद भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
परिसरका डिएसपी दीपक गिरीले दिएको जानकारी अनुसार भक्तपुर नगरपालिका ५ का २१ वर्षीय राजेश शाही, उनकी पत्नी १९ वर्षीया सरीता शाही, धादिङको बेनीघाट ३ घर भइ हाल काठमाडौं बुढानिलकण्ठ ७ हात्तीगौडा बस्ने ३९ वर्षीय केशव क्षेत्री, सर्लाहीको धनकौल ३ हरकठ्वा घर भएका २६ वर्षीय मोहमद शेष इन्ताज र ललितपुर महानगरपालिका १२ का २९ वर्षीय रवीन देउला पक्राउ परेका हुन्।
उनीहरुको साथबाट बागमती प्रदेश ०२–०१६ प ०१२६ नम्बरको मोटरसाइकल, मोवाइल ९ थान, सीमकार्ड १३ थान, ४६ हजार रुपैयाँ नगद र ठूलो परिणाममा लागूऔषधसहितका सामान बरामद गरिएको डिएसपी गिरीले जानकारी दिए।
गएको भदौ १७ गते सुरुमा शाही दम्पती भक्तपुरको क्वाछेँबाट लागूऔषधसहति पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा उनीहरुकै सञ्जालमा रहेर लागूऔषध कारोबार गर्दै आएका बाँकी चारजना पनि पक्राउ परेका हुन्। उनीहरुलाई काठमाडौं र भक्तपुरका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट लागूऔषध डाइजेपाम ६७६ थान, नोपहिन ६७६ थान, फेनरागन ५८१ थान बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ।
प्रतिक्रिया