११ पुस २०८१, बिहिबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


साइकल चलाएर पाटनमा मनाइयो विश्व पर्यटन दिवस




११ असोज ०७८, पाटन । पाटन दरबार आसपासका क्षेत्रमा साइकल ¥यालीका साथै साँझमा दीप प्रज्वलन गरी विश्व पर्यटन दिवस २०२१ मनाइएको छ । ललितपुर महानगरपालिकाका साथै ललितपुर उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा पाटनका धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रचारप्रसारका लागि द्वीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले पर्यटन क्षेत्रले कम लगानीमा नागरिकको चेतना वृद्धि गराउने बताएका छन्। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोनाका कारण पर्यटन क्षेत्र खुम्चिन पुगेको बताए । महानगरपालिका सांस्कृतिक सम्पदा केन्द्रका प्रमुख सहजीत राईले मुलुकमा पटकपटक भित्रने रोग र भूकम्पका कारण पर्यटन क्षेत्रलाई धेरै असर पु¥याएको बताए । उनले भने, “यस क्षेत्रलाई मजबुत बनाउन सबै क्षेत्रबाट साझा पहलको जरुरी छ ।”
सङ्घका अध्यक्ष मनोजबहादुर न्याछोंले यो दिवसका सन्दर्भमा दरबार क्षेत्रबाट पाटनका धार्मिक मार्गहरु करिब ८० ले साइकल यात्रीले यात्रा गरी भव्यताका साथ मनाइएको बताऐ । उनले भने, “कोरोना महामारीले भासिएको पर्यटन क्षेत्र विकासका लागि समयसापेक्ष आकर्षित योजना ल्याउन जरुरी छ ।”
सङ्घका कार्यसमिति सदस्य अपुलाल अवालेले पाटनमा आठौँदेखि १२औँ शताब्दीसम्मका मन्दिरहरु रहेका जानकारी गराउँदै नेपाल पर्यटन बोर्डले यसको प्रचारप्रसारमा लाग्नुपर्ने औँल्याए । पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५औँ कला नगरी घोेषणा गरिसकेको छ ।
पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छ । पाटनमा दरबार स्क्वायर, कृष्ण, तलेजु र भीमसेन आदि मन्दिर रहेका छन् । पाटन धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रुपमा परिचित नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो सहर पर्दछ । कार्यक्रममा पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निर्माण हुने गरेका चर्चा गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : २६ बजे