२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय



२७ असोज ०७८, काठमाडौं । बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । नेवार समुदायमा कुछी भ्वयको विशेष महत्व रहेको छ ।
कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्त), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौला, भटमास लगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ । नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।
दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय भएको तर पछि अप्रभंस भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ । महाअष्टमीको दिन बिहान नेवार समुदायले घरघरमा दसैँको मासु भित्र्याउँछन् । सो समुदायमा गुठी र टोल छिमेक मिलेर संयुक्तरुपमा काटेर भाग लगाएको राँगोको मासु घरघरमा भित्र्याउने प्रचलन छ । यसलाई दसैँको मासु भित्र्याएका भनिन्छ । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ८ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।