२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


असनमा तुलाधर समुदायले मनाए दसैँ




३० असोज ०७८,काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन क्षेत्रका तुलाधर समुदायले मनाउने दसैँ आज शनिबार विशेष कार्यक्रम गरी मनाएका छन् ।
काठमाडौँ महानगरपालिका २७ मा पर्ने असनस्थित तुलाधर समुदायको कुल देवताको घरमा भेला भएर उनीहरुले एकापसमा दसैँ मनाएका हुन् । प्रत्येक वर्ष यस समुदायले खड्गजात्रा निकालेर त्यस आसपास क्षेत्रमा बाजागाजासहित परिक्रमा गर्ने गरेकामा कोरोना महामारीका कारण यसपटक जात्राको कार्यक्रम स्थगन गरेका थिए ।
बकुभिन्डोमा दैत्यको चित्र बनाएर प्रतीकात्मक रुपमा त्यसलाई काटेर आसुरी शक्तिको नाश गरेर दसँैको टीका लगाउने परम्परा छ । यहाँ आज आयोजित कार्यक्रममा कुभिन्डोमा बालकदेखि परिपक्व मानिसले मार हानेर आसुरी शक्तिमाथि विजयी प्राप्त गरिएको घोषणा गरिएको थियो । तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरेको उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरले बताए । सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासीले एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन् ।
सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहार गरेको घटनासँग जोडिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा संस्कृतिका रुपमा मिश्रण गरिएको छ । बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले घटस्थापनाका दिन विधिविधानपूर्वक जमरा रोपेर विभिन्न देवी तथा देवताको पूजाआराधना गरेका थिए ।
तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको पूजा गरिन्छ । देशका विभिन्न स्थानमा विभिन्न समुदायले गर्ने संस्कृति, जात्रा तथा पर्वको महत्व र विशेषता भने फरक फरक भए पनि तीनले राष्ट्र संस्कृतिलाई विशिष्ट बनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ४ : ४९ बजे