३ कार्तिक ०७८, काठमाडौं । १७ वर्षअघि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुतलीसडकस्थित एकता प्रेस छापाखानाका सञ्चालक दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ८ का ३१ वर्षीय अर्जुन भन्ने खिमबहादुर शिवाकोटीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगर वडा २६ म्हैपीबाट प्युठान घर भई काठमाडौंको धुम्बाराही बस्ने ४१ वर्षीय शनी नरसिंह राणा रहेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गत असोज १५ गते पक्राउ गरेको हो ।
२०६१ पुस २२ गते छापाखाना अगाडि उनीहरूबीच पार्किङको विषयमा विवाद भएको थियो। विवादपछि उनीहरूले खिमबहादुरमाथि हेल्मेट, फलामको रड र चिया पकाउने भाडो समेतले कुटपिट गरी घाइते बनाएर भागेको आरोप छ।
कुटपिटबाट घाइते भएका खिमबहादुरलाई उपचारको लागि वीर अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको थियो। घटनामा संलग्न व्यक्तिहरू खोजी गर्ने क्रममा बा १६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकल आउनेहरूले कुटपिट गरेको खुलेको थियो। प्रहरीले लामो समयदेखि फरार रहेका राणालाई १७ वर्षपछि पक्राउ गरेको हो।
प्रतिक्रिया