२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बागमती प्रदेश सरकारले १ सय १९ विद्यार्थीलाई प्राविधिक विषय पढाउदै



फाइल तस्विर

१२ कात्तिक ०७८, हेटौडा । बागमती प्रदेश सरकारले १ सय १९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेकोे नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका १ सय १९ वटै पालिकाका एसइई उत्तीर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएका वर्गबाट छनोट गरी १ सय १९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषयमा अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको हो ।
यो कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले आगामी १५ दिनभित्र कार्यविधि तयार पारेर पेश गर्नसमेत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले बताएका छन् । सरकारले प्रदेशका सबै पालिकाबाट विद्यार्थी छनोट गरी इच्छाएको विषय अध्ययन गर्ने व्यवस्था मिलाउने र अध्ययनपश्चात सम्बन्धित पालिकामा सरकारले ताकेको निश्चित समय सेवा गर्नुपर्ने निर्णय गरिएको उनले बताएका छन् ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पहिलोपटक सत्ता सम्हाल्नुभएका मुख्यमन्त्री पाण्डेलाई बिहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराएका थिए ।
मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख शर्माले सामाजिक विकासमन्त्रीमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भडेल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशका संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई पद तथा गोपनियताको शपथग्रहण गराएका थिए ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ३४ बजे