७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कात्तिक २८ देखि चित्लाङ थानकोट सडक बन्द




२३ कात्तिक ०७८, काठमाडौं । गत दसैँ अघिबाट पुनः सञ्चालन गरिएको चित्लाङ थानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएको छ । मुख्य चाडबाड सकिएलगत्तै अब निर्माणको काम अघि बढ्ने भएकाले अर्को सूचना नभएसम्मका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गर्न लागिएको चित्लाङ चन्द्रागिरि थानकोट सडक निर्माण सरोकार समितिले जनाएको छ । कात्तिक २६ गतेदेखि सडक निर्माणको काम पुनः सुरु गर्ने र कात्तिक २८ गतेदेखि पूर्णरूपमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको सरकोर समितिका सदस्य रामशरण नेपालले जानकारी दिएका छन् ।
“काठमाडौँ आउजाउ गर्न बाटो ‘क्लियर’ छ, तर सडक निर्माण जारी रहँदा जोखिम हुने भएकाले बन्द गर्ने निर्णय गरिएको हो”, सडक निर्माणका अभियानकर्मी नेपालले भने । चित्लाङ थानकोट सडकअन्तर्गत थानकोट चन्द्रागिरि खण्डको ठेक्काको म्याद आगामी चैतदेखि सकिने हुँदा तोकिएको म्यादभित्र तोकिएका काम सक्नु निर्माण पक्षमाथि दबाब छ । “जनताको माग पनि छिटोभन्दा छिटो बाटो बनोस् भन्ने छ, त्यही भएर चाडबाड सकिएलगत्तै काम सुरु गर्न लागेका हौँ”, समितिका सदस्य नेपालले भने ।
सडक निर्माण सरोकार समितिका अनुसार थानकोटबाट दुई हजार २ हजार ५ सय मिटरदेखि ८ हजार २ सय ५० मिटरसम्मको सडकको ‘ट्याक क्लियर’ भइसकेको छ । यो खण्डको पानीघाट घुम्तीमा रेडियस र ग्रेड मिलाउने कामबाट अघि बढेको समितिले ३ हजार १ सय ६० मिटर सडकमा मेसिनरी वाल उठाउने, ३ हजार ४ सय २० मिटर सडकसम्म डाउन गर्ने, ३ हजार ५ सय ८० मिटर सडकसम्म दुई मिटर माटो भर्ने, ३ हजार ७ सय ८० मिटरसम्म ढिस्को काट्ने, पहिरो हटाउने, खोल्सीको मोडलाई २५ मिटरको रेडियसमा घुमाउने लगायतको काम भएका छन् ।
त्यस्तै डोजर झरेको मोडमा रक कटिङ गर्नेदेखि कतिपय मोडलाई ३० मिटरसम्म पर धकेलिएको छ भने सेतो पहरालाई समेत छिचोल्न सफल भएको छ । सडक निर्माणका मुख्य अभियानकर्मी सुभाषचन्द्र ठकुरीका अनुसार अँधेरी खोल्छामा ‘रक कटिङ’ गरेर उजेली खोल्सा बनाइएको छ भने तीन वटा अप्ठ्यारा घुम्तीलाई ‘क्यान्सिल’ गरिएको छ । ठकुरीले थानकोटदेखि चन्द्रागिरीसम्म सडक छिचोल्दा यसलाई सामान्य हिसाबले ‘ट्र्याक ओपन’ भनिए पनि त्यो भन्दै धेरै गरिएको बताए ।

उनले ७ हजार ९ सय मिटर सडकमा २२ मिटर अगाडि अर्को मोड बनाएर ढिस्को कटिङ गरेर नमूना प्राकृतिक वालसमेत निर्माण गरिएको जानकारी दिए । ठकुरीका अनुसार अब छाप्रोमाथिको खोल्सीको मोड सुधार गर्नुपर्ने, थुप्रेको माटो फाल्नुपर्ने, डोजर झरेको मोडमा तीन मिटरबाहिर आउनेगरी वाल लगाउनुपर्ने, सबै ठाउँमा १० मिटर हुनेगरी चौडा बनाउनुपर्ने, पश्चिम ६ किलोमिटरको मोडमा तीन मिटर बाहिर वाल लगाउनुपर्ने, अँधेरी खोल्सीको बाटो फराकिलो बनाउनुपर्ने, राम्चेको जेड कटिङसम्मको सिङ्गल बाटोलाई डबल बनाउनुपर्ने जस्ता काम गर्नुपर्नेछ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।