सुभानु आचार्य
२८ कात्तिक ०७८,विशंखु । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन विशङ्खुनारायण मन्दिरमा लाग्ने हरिबोधिनी एकादशी मेलाका लागि मन्दिर प्राङ्गणमा मर्मतसम्भार र सरसफाइको काम सकिएसँगै आजबाट मेला लाग्ने भएको छ ।
गोदावरी नगरपालिका २ मा पर्ने चार नारायणमध्येका एक विशङ्खुनारायण मन्दिरमा हरिबोधिनी एकादशीका दिन भव्य मेला लाग्ने गर्दछ । मेलामा मुलुकका विभिन्न जिल्लाबाट नारायणको दर्शन गर्न भक्तजन आउने भएकाले अहिले मन्दिर प्राङ्गणमा मर्मतसम्भार र सरसफाइको काम गरिएको छ ।
शनिबार विभिन्न सङ्घ संस्थाको सहयोगमा मन्दिर आसपास क्षेत्रमा सरसफाइ गरी बत्ती जडानसँगै लाइनआदि राख्ने व्यवस्थापन गरिएको विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए । उनले भने, “यहाँका सडक खाल्डाखुल्डी परेकाले आज मर्मत तथा सुधारका काममा हामी जुटिरहेका छाँै ।” गतवर्ष मुलुकमा कोरोना महामारी बढेकाले एकादशीका दिन भक्तजनलाई मन्दिर प्रवेश गर्न पूर्ण रुपमा रोक लगाइएको थियो । यो वर्ष कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण भएसँगै सहज रुपमा नारायणको दर्शन गर्न दिइने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
सोमबार विशङ्खुनारायण सडकमा हुने मानिसको भीडभाडका कारण सवारीसाधन भने मन्दिर क्षेत्रमा ल्याउन नदिने निर्णय गरेको विशङ्खुनारायण परम्परागत पूजा व्यवस्थापन तथा संरक्षण समितिका सचिव दिवाकर सुवेदीले बताए । उनले भने, “भोलि राति २ बजेपछि नारायण दर्शन गर्न हजारौँ हजार मानिस विशङ्खु आउने भएकाले सुरक्षा व्यवस्था पनि प्रभावकारी बनाइएको छ ।” विशङ्खु नारायणथानमा नारायणको प्राकृतिक शिलाको मूर्ति रहेकाले अन्य दिन पनि दर्शनार्थी अवलोकन र भ्रमण गर्न आउने गरेका चिव सुवेदीको भनाइ छ ।
स्थानीयवासी सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्टदेवताको रुपमा पुज्ने गर्छन् । विशङ्खुनारायणको नित्य पूजा हालसम्म कहिले पनि नरोकिएको र त्यहाँका पूजारी परिवारलाई जुठो र सुत्केरी पर्दा अन्य थरका ब्राह्मण बोलाएर गरिने चलन रहेको स्थानीयवासीको धारणा छ ।
नेपालका चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रुपमा पुजिने गरिएको स्थानीयवासी पुरुषोतम विष्टले बताए । उनले भने, “हिन्दू धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडौं दक्षिणकालीमा रहेका शेषनारायणलाई साइला नारायण र इचङगुनारायणलाई कान्छो नारायणका रुपमा पुज्ने गरेका छन् ।” हरेक वर्ष पुस १ गते विशङ्खुनारायण भगवानको महास्नान हुने गर्छ । महास्नानको दिन वर्षमा एक पटक मात्र भगवानको मूर्तिलाई बाहिर निकालिने चलन रहेको विष्टले जानकारी दिए ।
हरिबोधनी अर्थात ठूलो एकादशीको दिनदेखि भगवान नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गर्ने परम्परा नेपालमा रहिआएको छ । प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने भएकाले धुनवेशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटाँैडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारीसाधन लिएर दर्शन गर्न भक्तजन विशङ्खु आउने गरेका कार्यसमिति सदस्य बेबीराज भण्डारीले बताएकाछन् ।
विशङ्खुनारायणथान ललितपुरको एक प्रसिद्ध तीर्थस्थल हो । यो मन्दिर जमिन सतहबाट एक हजार ५ सय मिटर उचाइमा रहनाका साथै लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । सदियाँैदेखि नारायणको मन्दिरमा बिहान पूजासँगै साँझ आरती गर्दा प्रिय बाजा नगरा बजाउने चलन रहिआएको छ । विशङ्खुनारायण मेलामा मुलुकका ७७ जिल्लाका मानिस भ्रमण गर्न आउने भएकाले विशेष गरी उखु, खुवा, पिँडालु, बदाम, वन तरुल, सखरखण्डलगायत स्थानीय बारीमा उत्पादन भएका तरकारी तथा अन्य फलफूल खुबै बिक्री वितरण गरिने तयारी भइरहेको प्रमिला विष्टले बताइन् ।
विशङ्खुनारशायण थानको ककारोभित्र शालिकरामसमेत राखेर पूजाआजा गर्ने गरिन्छ । यो क्षेत्रमा भगवान नारायणसँगै लक्ष्मीनारायणको पाइला, हनुमान, गणेश रहनुका साथै पाप र धर्मद्वारको नामले परिचित एक गुफा समेत रहेको छ । सिलवाल र विष्टको बाहुल्यता रहेको विशङ्खुनारायण थानमा लगभग छ हजार ८०० जनसङ्ख्या रहनाका साथै झण्डै एक हजार २०० घरधुरी रहेका छन् ।
भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामाकरण भएको स्थानीय ८६ वर्षीय गोविन्द विष्टले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सुष्टि भएको हो ।” नारायणको दर्शन गर्न मन्दिरको ९३ सिँढी चढेर माथि चढ्नुपर्ने हुन्छ । कात्तिक महिनामा दान, पुन्य गरी जाग्राम बसेर बत्ती बाल्दा श्रीवृद्धि हुने विश्वास हिन्दू धर्मावलम्बीमा रहेको छ ।
प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने गर्छ । हरिशयनी एकादशीको दिनमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिन व्रत बसेर राधाकृष्णको नाममा विभिन्न पकवान बनाएर, फूलमाला, फलफूल बस्त्र र रङ लगाइदिएर पूजाआरधना गर्ने चलन नेपाली समाजमा आज पनि उत्तिकै व्यापक रहेको छ ।
मुलुकमा कोरोना कहर भित्रिनु अघि हरेक शनिबार वा सार्वजनिक बिदाका दिन विशङ्खु घुम्ने अनि दर्शन गर्ने र वनभोज खाने मानिसको निकै चहलपहल हुने गरेको समितिले जनाएको छ ।
हरिबोधनी एकादशीको महत्व
कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।
वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।
यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशङ्खुनारायण, काठमाडौँको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । रासस
प्रतिक्रिया