१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एकादशी मेलामा ३५ हजारले गरे विशंखुनारायणको दर्शन



१ मंसिर ०७८, ललितपुर । हरिबोधनी एकादशीका दिन ललितपुरस्थित विशंखुनारायणमा करिब ३५ हजार भक्तजनले दर्शन गरेका छन् ।

ठूलो एकादशीका दिन करिब ३५ हजार भक्तजन मेला भर्न नारायणथान आएका विशंखुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए ।
मुलुुकमा कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरण हुँदै गएकाले एकादशीका दिन लगभग एक सय महिलाले मन्दिरमा जाग्राम बसी नारायणको नाममा बत्तीसमेत बालेका अध्यक्ष विष्टले जानकारी दिए ।
मन्दिर आसपास क्षेत्रका सडकको खाल्डाखुल्डी मर्मत तथा सुधार गरेकाले बजारबाटसमेत बाजा बजाएर भक्तजन नारायणको दर्शन गर्न आएका विशङ्खुनारायण परम्परागत पूजा व्यवस्थापन तथा संरक्षण समितिका सचिव दिवाकर सुवेदीले बताए ।
गोदावरी नगरपालिका–२ मा पर्ने चार नारायणमध्येका एक विशंखुनारायण मन्दिर ललितपुरको एक प्रसिद्ध तीर्थस्थल हो । सो मन्दिर जमिन सतहबाट एक हजार ५०० मिटर उचाइमा रहनाका साथै लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । विशंखु नारायणथानमा नारायणको प्राकृतिक शिलाको मूर्ति रहेकाले अन्य दिन पनि दर्शनार्थी अवलोकन र भ्रमण गर्न आउने गरेका सचिव सुवेदीको भनाइ छ ।

स्थानीयवासी सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्टदेवताको रुपमा पुज्ने गर्छन् । विशङ्खुनारायणको नित्य पूजा हालसम्म कहिले पनि नरोकिएको र त्यहाँका पूजारी परिवारलाई जुठो र सुत्केरी पर्दा अन्य थरका ब्राह्मण बोलाएर गरिने चलन रहेको स्थानीयवासीको धारणा छ ।

नेपालका चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रुपमा पुजिने गरिएको स्थानीयवासी पुरुषोतम विष्टले बताए । हरेक वर्ष पुस १ गते विशङ्खुनारायण भगवानको महास्नान हुने गर्छ । महास्नानको दिन वर्षमा एक पटक मात्र भगवानको मूर्तिलाई बाहिर निकालिने चलन रहेको विष्टले जानकारी गराए ।
हरिबोधनी अर्थात ठूलो एकादशीको दिनदेखि भगवान नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गर्ने परम्परा नेपालमा रहिआएको छ । प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने भएकाले धुनवेशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटाँैडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारीसाधन लिएर दर्शन गर्न भक्तजन विशङ्खु आउने गरेको कार्यसमिति सदस्य बेबीराज भण्डारीले बताए ।
सदियाँैदेखि नारायणको मन्दिरमा बिहान पूजासँगै साँझ आरती गर्दा प्रिय बाजा नगरा बजाउने चलन रहिआएको छ । विशंखुनारायण मेलामा मुलुकका ७७ जिल्लाका मानिस भ्रमण गर्न आउने भएकाले विशेष गरी उखु, खुवा, पिँडालु, बदाम, वन तरुल, सखरखण्डलगायत स्थानीय बारीमा उत्पादन भएका तरकारी तथा अन्य फलफूल खुबै बिक्री वितरण गरिने तयारी भइरहेको प्रमिला विष्टले बताइन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ३ : ३५ बजे