१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कथा प्रतियोगिताका विजयीलाई पुरस्कार



३ मंसिर ०७८, काठमाडौं । रक्षामन्त्री डा मीनेन्द्र रिजालले बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिसहोम १२ खरी कथा लेखन प्रतियोगिताका विजयीलाई आज शुक्रबार पुरस्कार वितरण गरेका छन् । प्रतियोगितामा प्रथम पुरस्कार मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ शीर्षकको कथाले प्राप्त गरेको थियो । दोस्रो पुरस्कार स्वप्निल नीरवको ‘बुढो घर’ कथाका लागि र तेस्रो पुरस्कार ‘मुडुली’ कथाका लागि रेणुका जिसीले प्राप्त गरे । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः रु एक लाख, साठी हजार र चालिस हजार रहेको छ । उत्कृष्ट २२ कथाकारलाई प्रमाणपत्रसहित पाँच–पाँच हजार रुपैयाँ नगद पुरस्कार दिइयो ।
कार्यक्रममा मन्त्री रिजालले प्रतियोगिताका कथामध्ये उत्कृष्ट २५ कथाको सँगालो राजेन्द्र पराजुलीबाट सम्पादित ‘उत्कृष्ट कथा २०७८’ को लोकार्पण पनि गरे । मन्त्री रिजालले ती कथाले समाजको अध्ययन गर्न सहयोग गर्ने बताउँदै समाज प्रतिबिम्बित गर्ने साहित्य सधैँ सर्वकालिक हुने उल्लेख गरे ।
उत्कृष्ट कथाकारलाई मन्त्री रिजालसँगै डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानलगायतले प्रमाणपत्र, नगद र ट्रफी वितरण गरेका थिए ।
यस वर्षका उत्कृष्ट २२ कथाकारमा आन अच्युत, कमल नेपाल, डा गोविन्दसिंह रावत, चन्द्र पन्जियार, जीवन खत्री, डीके विरही, तिलक राई, त्रिभुवनचन्द्र वाग्ले, बुद्धिराज पाण्डे, मनोहर पोखरेल, महेन्द्र उपाध्याय, मोद ढकाल, डा राजु अधिकारी, वीरसिंह विश्वकर्मा, विशालबाबु बस्नेत, शारदा पराजुली, श्रेयज सुवेदी, सञ्जय भट्टराई, सपना अधिकारी, सरिता अर्याल, साजन केसी र हरिबोल काफ्ले भएका छन् ।
कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा मूल्याङ्कन समिति गठन गरिएको थियो । बाह्य निर्णायकमा वरिष्ठ आख्यानकार नारायण ढकाल संयोजक तथा समालोचक कुमारी लामा र कथाकार विवश पोखरेल सदस्य रहेका थिए । आन्तरिक समिति बाह्रखरीका कार्यकारी सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा रहेको थियो । प्रतियोगितामा प्राप्त ४सय बढी कथामध्येबाट ५० वटा कथा चयन गरी बाह्य निर्णायक समितिलाई बुझाइएको थियो । उक्त ५० कथामध्येबाट समितिले उत्कृष्ट २५ कथासहित प्रथम, द्वितीय र तृतीय घोषित गरिएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ११ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।