९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा सङ्गठन विस्तार गर्दै एकीकृत समाजवादी



२० मंसिर ०७८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–सामाजवादी)ले काभ्रेपलाञ्चोकमा सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । सो पार्टीले एकै दिन तीन वडासम्ममा कमिटी गठन गरेको हो ।
गत शनिबार मात्रै नमोबुद्ध नगरपालिका २, रोशी गाउँपालिका ६ र तेमाल गाउँपालिका २ मा वडा कमिटी गठन भएको पार्टीले जनाएको छ । रोशी ६ मा भने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा वडा कमिटी गठन भएको हो । स्थानीय तहमा कमिटी निर्माणपछि पार्टीको हप्ताअघि बसेको बैठकले काभ्रेमा सङ्गठन विस्तारको अभियानलाई थप तीव्रता पार्ने निर्णयअनुसार अघि बढिएको जनाइएको छ ।
काभ्रेमा धमाधम पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठन निर्माण भइरहेको जिल्ला सचिव दिपक गौतमले जानकारी दिनुभया । उहाँका अनुसार आउँदो पुस १५ गतेसम्म सबै वडामा कमिटी गठन भैसक्ने छन् । जिल्लाको छ नगर र सात गाउँपालिकामा १३५ वडा छन् । हालसम्म ६० वडामा कमिटी गठन भइसकेको गौतमले जानकारी दिनुभयो । “वडा कमिटी गठन गर्न जिल्ला तथा केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएअनुसार तीव्ररुपमा भइरहेको छ, आउँदो पुस १५ सम्म सक्ने योजनाअनुसार गाउँस्तरमा लागेका छौँ”, उहाँले भन्नुभयो ।
मण्डनदेउपुर नगरका सबै वडामा कमिटी निर्माण भइसकेको उक्त पार्टीका जिल्लाध्यक्ष टोकबहादुर वाइवाले बताउनुभयो । वाइवा उक्त नगरको प्रमुखसमेत रहनुभएको छ । पार्टीले विशेष गरी वडास्तरमा पार्टी कमिटीसँगै युवा, महिला र किसान जनवर्गीय सङ्गठन घोषणा गरिरहेको छ । “हामी क्रमैसँग जनवर्गीय सङ्गठनसमेत गठन गर्दै जाने योजना बनाएका छौँ”, वाइवाले भन्नुभयो ।
नेकपा (एमाले)सँग विभाजन भएसँगै निर्माण भएको उक्त पार्टीमा गत भदौ अन्तिमसाता काभ्रेमा निर्वाचित ५६ जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सनाखत गरेका थिए । तत्कालीन एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी सञ्चालन र मनोमानीरुपमा एकल निर्णय गर्दै एकोहोरो अघि बढेकाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लाग्नुपरेको वाइवाले बताउनुभयो ।
उक्त पार्टीमा काभ्रेपबाट नेतृत्व गर्नुभएका एमालेबाट निर्वाचित पूर्वसांसदत्रय शिवबहादुर देउजा, कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा रहनुभएको छ । देउजा हाल समाजवादीमा केन्द्रीय अनुशासन आयोग अध्यक्ष हुनुहुन्छ भने कृष्णप्रसाद पोलिटब्युरो सदस्य र अर्का सापकोटा केन्द्रीय सदस्य रहनुभएको छ । जिल्लामा हालका दुई प्रदेश सांसद पनि समाजवादीका हुनुहुन्छ ।

 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ७ : ५८ बजे