
२० मंसिर ०७८, विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रमुख दावेदार मानिका डा शेखर काइराला परिवारले भोट नहाल्दा प्रदेश १ सभापतिमा हार व्यहोर्नु परेको छ । नेताहरु शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य, बलबहादुर केसी लगायतले प्रदेश अधिवेशनमा मतदान गरेका थिएनन् । उनीहरु मतदानमा सहभागी नहुँदा घिमिरे दुई मत अन्तरले पराजित भएका थिए ।
कोइराला पार्टी विधानबारे बेखबर रहेकोले यो अवस्था आएको पाइएको छ । कोइराला लगायतका नेता पार्टी विधानबारे बेखबर हुँदा कांग्रेस प्रदेश १ को अधिवेशनमा आफ्नै पक्षका उम्मेदवार गुरुराज घिमिरेले हार व्यहोरेका छन् ।
आफू पक्षका उम्मेदवारलाई समेत भोट नहाल्दा पराजय व्यहोर्नु परेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहँदा नेता शेखर कोइरालाले ‘भविष्यमा जटिलता आउन सक्ने’ भएकाले मतदानमा सहभागी नभएको जनाएका छन् । उनले आफूबाट गल्ती भएको भए भन्दै क्षमा मागेका छन् ।
संस्थापनइतरका घिमिरे सभापतिमा उद्धव थापासँग दुई मतले पराजित भएका छन् । मतगणनामा असन्तोष जाहेर गर्दै घिमिरेले पुनः मतगणनाको माग गरेका छन् ।
पार्टी उपसभापति पदमा दाबी गरिरहेका आचार्यले पनि मतदानमा भाग लिएनन् । नेतृ सुजाता कोइरालाले पनि मतदान गरिनन् । केन्द्रीय सदस्यले मतदान गर्न पाउने–नपाउने बारे ‘अन्योल रहेको’ दाबी गर्दै उनीहरु मत नहालि काठमाडौं फर्किएका थिए ।
यस घटनाले शीर्ष तहका नेताहरु नै पार्टीको विधानलाई अध्ययन गर्दैनन् भन्ने देखिएको छ ।
कांग्रेस विधानको १३ औं नम्बरको १ ‘ख’ मा भनिएको छ ‘सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका सदस्य एक अवधिका लागि प्रदेश अधिवेशनका सदस्य’ हुने उल्लेख छ । प्रष्ट उल्लेख हुँदाहुँदै पनि नेताहरुले मतदानमा भाग नलिएपछि केन्द्रको चुनावमासमेत यसले असर गर्ने संस्थापन इतरकै नेताहरु बताउँछन् ।
‘शेखर राजनीतिमा आउनु भएको धेरै भएको छैन,’ संस्थापन पक्षका एक नेताले भने, ‘उहाँ हिजोअस्तिसम्म विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिरेका रुपमा हुनुहुन्थ्यो । कोइराला परिवारको भन्दैमा नेतृत्व जिम्मा लगाइने हाल्ने कुरा हुँदैन।’
मतदानमा भाग नलिएको कुरा पनी उनी राजनीतिमा आलोकाँचो रहेको देखाएको उनको भनाइ छ ।
शनिबार विराटनगरमा भएको मतदान कार्यक्रममा शेखर, सुजाता र महेशले मात्रै भोट खसालेको भएपनि गुरूले आफ्नो राजनीतिलाई खुम्चाउनु पर्ने अवस्था बन्ने थिएन । झापाका थापाले ८४४ मत प्राप्त गर्दा मोरङका गुरूले भने ८४२ मत पाए ।
‘ठूला नेताले प्रदेशमा भोट हाल्दा इज्जत जाने डरका कारण आफैंले सभापतिबाट हात धोएर हिँड्ने अबस्था आयो’ संस्थापनइतरका एक नेताले भने ।
यति बेला कोइराला निवासमा राजनीतिक सरगर्मी बढेको छ । पराजित घिमिरे होटल बसेर छुट्टै छलफल गरिरहेका छन् भने कार्यकर्तालाई जावफ दिन शेखरलाई भ्याइनभ्याइ परेको छ । नेपाली कांग्रेस प्रदेश १ सभापतिमा घिमिरेलाई उम्मेद्वार बनाउन डा. शेखर कोइरालासहितका नेताहरू जोडतोडले लागेका थिए ।
प्रदेश १ कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र घिमिरेले दाबी पेस गर्दा राजीवको पक्षमा सुजाता कोइराला र प्रदेश १ संसदीय दलका नेता केदार कार्की मात्रै उभिए । शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाललगायतका नेताहरु घिमिरेको पक्षमा उभिएका थिए । प्रदेशका अधिकांश शीर्ष नेता गुरुको पक्षमा उभिएपछि उनले उम्मेद्वारी पाएका थिए । आफ्नै उम्मेद्वारलाई शीर्ष नेताले मतदान नगर्दा अन्ततः गुरू पराजित भएको भन्दै कार्यकर्ताले नेतृत्वमाथि असन्तुष्टि पोखिरहेका छन् ।







प्रतिक्रिया