७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सभापतिका साझा उम्मेद्वार बनाउने कसरतमा नेताहरु   



२२ मंसिर ०७८, काठमाडौं । सभापतिका साझा उम्मेद्वार सहमतिका साथ टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् ।

बत्तिस पुतलीस्थित अनुपम फुड्ल्याण्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेद्रवार बनाउने अन्तिम तयारी गरेको हो । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापति, निवर्तमान सभापतिको संयुक्त बैठकले सभापतिका आकांक्षी चार नेतालाई सहमतिमा ल्याएर साझा उम्मेद्वार बनाउन सुझाएको छ ।

बैठकमा सहभागी अधिकांश नेताले पार्टीमा निरन्तर लामोसमयदेखि त्याग गरेका सर्वस्वीकार्य नेतालाई सभापतिको उम्मेद्वार बनाउन सुझाएका छन् ।

संयुक्त बैठकपछि चाक्सीबारीमा अपराह्न ३ बजे शीर्ष नेताहरुसहितका पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले साझा उम्मेद्वारको टुङ्गो लगाउने केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले बताए । उनले भने, “व्यक्ति नटुङ्गिए पनि छलफल केही साँघुरिएको छ, बेलुकासम्म सभापतिको उम्मेद्वार टुङ्गो लाग्छ ।”

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीका पूर्व सभापति, वर्तमान सभापतिलगायतसँग बसेर छलफल गरिएको र विभिन्न कोणबाट सुझाव आएकाले पुनः केन्द्रीय सदस्य तथा पदाधिकारीसहितको बैठकले अन्तिम टुङ्गो लगाउने बताए । बैठकमा वरिष्ठ नेता पौडेल केहीसमय बसेर बाहिरिनुभएको थियो । चारजनामध्ये आफू पनि सभापतिको उम्मेद्वार भएकाले बैठकको निष्कर्षलाई स्वीकार्ने सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले सबै नेता उम्मेद्वारका लागि उत्तिकै योग्य भए पनि अहिलेको परिस्थितिमा कस्तो व्यक्तिलाई उठाउँदा उपयुक्त हुन्छ, पार्टीमा निरन्तर योगदान गरेको र आगामी दिनको चुनौतीलाई सामना गरेर अघि बढ्नसक्ने नेतृत्व चाहिन्छ भनेर बैठकले सुझाएको बताए ।

निवर्तमान जिल्ला सभापति जगदीश नरसिंह केसीले सभापतिका आकांक्षी चार नेता बसेर साझा धारणा बनाएर ल्याउन बैठकले अनुरोध गरेको बताए । हिजो मङ्गलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यको बैठकले सभापतिको नाम टुङ्गो लगाउन खोजे पनि सहमति नभएपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारदेखि काठमाडौँमा कांग्रेस महाधिवेशन सुरु हुँदैछ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ३ : ४१ बजे