१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा   



५ पुस ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र तथा समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु मुलुकको राष्ट्रिय दायित्व रहेको स्पष्ट  पारे । प्रधानमन्त्री देउवाले विश्वविद्यालयको शिक्षा केवल औपचारिक तथा सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी र समाज विकास एवं रुपान्तरणमा सहयोगी बन्नुपर्नेमा जोड दिए ।

“मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक, नवप्रवर्तनशील र युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्ति हुनुपर्दछ”, प्रधानमन्त्री देउवाले भने, “आजको विश्व शैक्षिक बजारमा युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।”

उनले शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्ने धारणा व्यक्त गरे । विश्वविद्यालयलको नेतृत्वले भौतिक, शैक्षिक सुधार तथा विद्यार्थी कल्याण सम्बन्धिका कार्यका साथै स्तरोन्नतिका प्रयासलाई निरन्तरता दिन सुझाव दिए ।

उनले दीक्षित भएर गएका दिक्षार्थीको अनुहारमा नेपालको सुन्दर मुहारको प्रतिविम्ब देखिरहेको समेत बताए । विश्वविद्यालयबाट ग्रहण गरेको ज्ञान र सीप उत्पादनशील कार्यमा लाग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भने “भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईहरुको सोच, अठोट र कर्ममा निर्भर छ ।”

समारोहमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका निर्देशक प्रा डा भी रामगोपाल रावले आजका सन्दर्भमा उत्पादन, व्यावसायिक तथा रोजगारीमुखी शिक्षाको आवश्यकता औँल्याए । आजको विश्व बजारमा एउटा सानो क्षेत्रका गतिविधिले समेत विश्वलाई प्रभाव पार्ने उल्लेख गर्दै उहाँले नयाँ प्रविधि र सञ्चालनको विकासको अपरिहार्यता रहेको बताए ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ५ : ३२ बजे