२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रे प्रशासनमा सेवा लिन पालो कुर्नु पर्ने




१३ पुस ०७८, धलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको भन्दै आलोपालो सिस्टम लागू गरेपछि अव सेवा लिन पालो कुर्नु पर्ने भएको छ । प्रशासनले सूचना जारी गरेर आउँदो बिहीबारदेखि सेवाको तालिका हेरफेर गरेको छ ।
कार्यालयले सूचनामार्फत सार्वजनिक अपिल गर्दै कोभिड–१९ को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिनसमेत आग्रह गरेको छ ।
दैनिकरूपमा नागरिकतालगायतका सेवा लिन आउनेको सङ्ख्या बढिरहेकाले भीड कम गर्न समयतालिका हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताएका छन् । उनका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगर तथा चौँरीदेउराली गाउँपालिका र तेमाल गाउँपालिकाका सेवाग्राहीका लागि आइतबार र बुधबार सेवा प्रदान गरिनेछ ।
यस्तै पनौती नगर, पाँचखाल नगर तथा भुम्लु गाउँपालिका र रोशी गाउँपालिकाका लागि सोमबार र विहीबार सेवा प्रदान हुने जारी सूचनामा जनाइएको छ । बनेपा नगर, नमोबुद्ध नगर तथा बेथानचोक गाउँपालिकाका लागि मङ्गलबार र शुक्रबार तोकिएको छ । अन्य दुई महाभारत र खानीखोला गाउँपालिकाका लागि दैनिकरूपमै सेवा प्रदान हुने प्रजिअ पोखरेलले जानकारी दिए ।
कार्यालयले गत असोज महिनायता जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप्दै आएको थियो । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले समुदायमा सङ्क्रमणदर घटेको तथा मृत्युदर शून्यमा झरेका कारण काभ्रेपलाञ्चोक ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।
यसैबीच काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमणको जोखिम न्यून रहेको पाइएको छ । केन्द्रका अनुसार हाल जिल्लामा ३२ कोरोना सक्रिय सङ्क्रमित छन् । केन्द्रले केही दिनदेखि नयाँ सङ्क्रमित नदेखिएको जनाएको छ । जिल्लाका सात स्थानीय तह मण्डनदेउपुर नगर तथा छ गाउँपालिका चौँरीदेउराली, रोशी, तेमाल, बेथानचोक, महाभारत र खानीखोला कोरोना सङ्क्रमणमुक्त छन् ।
जिल्लामा हाल सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरमा नौ, पाँचखालमा तीन, धुलिखेलमा आठ, पनौतीमा सात, नमोबुद्ध नगरमा दुई र भुम्लु गाउँपालिकामा तीन रहेको केन्द्रले जनाएको छ । जिल्लामा हालसम्म १४ हजार ८ सय ४० मा सङ्क्रमण देखिएकामा १ सय ९३ जनाको मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ दशमलव ४८ प्रतिशत अर्थात् १४ हजार ६ सय १५ सङ्क्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ८ : ०५ बजे