१३ पुस ०७८, काठमाडौं । जीवित देवीदेवताका रुपमा भूमिका निर्वाह गरेकी पूर्वश्री कुमारी, पूर्वश्री गणेश र पूर्वश्री भैरवलाई सम्मान तथा श्रीपद् भत्ता वितरण गरिएको छ । काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले आज मंगलबार आयोजना गरेको कार्यक्रममा यसअघिका पूर्वश्री कुमारी, पूर्वश्री गणेश र पूर्वश्री भैरवलाई सम्मानसमेत गरिएको हो ।
विसं २०६५ देखि २०७४ सम्म कुमारीका रुपमा भूमिका निर्बाह गर्नुभएकी मतिना शाक्य, सोही समयमा पूर्वश्री गणेशको भूमिका निर्बाह गरेकी संवेग शाक्य र पूर्वभैरवको भूमिका निर्बाह गरेकी रोजन शाक्यलाई सम्मान गरिएको हो । सो अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पूर्वकुमारीलाई मासिक रु १५ हजार, पूर्वगणेश र पूर्वभैरवलाई मासिक रु १२÷१२ हजारका दरले चालु आर्थिक वर्षको श्रीपद भत्ता वितरण गरेका छन् । पूर्वश्री कुमारी, पूर्वश्री गणेश र पूर्वश्री भैरवलाई कार्यक्रममा भत्ता वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख शाक्यले जीवित देवीका रुपमा कुमारीको जात्रा गर्ने जस्तो परम्परा अरु देशमा नभएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् । विसं २०७६ को इन्द्रजात्रामा विभिन्न देशका मुख्य नगर प्रमुखलाई बोलाएर जीवित देवी कुमारी, गणेश र भैरवको रथ चलाएर गरिने इन्द्रजात्रा देखाउँदा प्रभावित भएको प्रसङ्ग पनि उनले बताए । मित्रराष्ट्रका नगरप्रमुखले यस्तो परम्परा संरक्षण गर्न महानगरपालिकालाई सुझाव दिएका थिए ।
महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भाषा र संस्कृति संरक्षण गर्नु स्थानीय सरकारको पहिलो प्राथमिकता रहेकाले यस्ता कार्यक्रमलाई प्रोत्साहन दिने गरिएको बताए । काठमाडौँ नेपालकै संस्कृति पहिचानको थलो भएकाले संरक्षणमा विशेष ध्यान दिएको उनको भनाइ थियो । महानगरपालिकाले ९१ विद्यालयमा नेवारी भाषाको पाठ्यक्रम लागू गरेको जनाएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले विश्वमै अद्वितीय सम्पदाको शहर काठमाडौँ गनिने भएकाले यहाँका मूर्त एवम् अमूर्त संस्कृति संरक्षणमा स्थानीय सरकारले ध्यान दिने प्रतिबद्धता जनाएका थिए । विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रको विकासमा महानगरले विशेष ध्यान दिएको उनको भनाइ थियो ।
दरबार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख रोशनमान शाक्यले हनुमानढोका दरबार क्षेत्रका मठ मन्दिरमा पूजा गर्ने पुजारीलाई महानगरपालिकाले मासिक रु पाँच हजार सहयोग गरिरहेको जानकारी गराउनुभयो । अमूर्त संस्कृति संरक्षणमा यसले सहयोग गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया