
१५ पुस ०७८, सुर्खेत । विवादका बीच सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले २०६२÷६३ सालको जनआन्दोलनका क्रममा भत्काइएको शालिक आज पुनःस्थापना गरेको हो ।
वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक राख्ने÷नराख्ने विषयमा यहाँ ठूलो विवाद थियो । विवादकै बीच स्वर्गीय राजा वीरेन्द्रको ७७ औँ जन्मजयन्तीका अवसरमा उक्त समूहले एक्कासि अर्धकदको शालिक राखेको हो । यस समूहको अगुवाई गोरक्ष पीठाधीश योगी बलभद्रले गरेका छन् । दुई वर्षअघि चौक पुनः निर्माण गर्दा स्थानीयवासीले शालिक पुनःस्थापना गर्न वीरेन्द्रनगर नगरपालिकालाई दबाब दिएका थिए तर नगरपालिका भने राजनीतिक सहमति बेगर भत्काइएको शालिक पुनःस्थापना गर्न नसकिने भन्दै पन्छिँदै आएको थियो ।
योगी बलभद्रले वीरेन्द्रनगरको इतिहास जोगाउन शालिक पुनःस्थापना गरिएको बताएका छन् । “राजा वीरेन्द्रकै नामबाट सुर्खेत उपत्यकाको नाम वीरेन्द्रनगर राखियो, राजाले मन पराएर यहाँको गुरुयोजना बनाए, त्यही गुरुयोजना अनुसार वीरेन्द्रनगरको विकास भइरहेको छ,” उनले भने, “राजाको भूमिका जे जस्तो भए पनि इतिहास मेट्न पाइँदैन, त्यही भएर हामीले व्यक्तिगत लगानीमा शालिक राखेका हौँ ।” राजा वीरेन्द्र सुर्खेत आएका बेला २०४४ सालमा मुख्य बजार चोकलाई ‘वीरेन्द्रचोक’ नामकरण गर्दै आफ्नै शालिक अनावरण गरेका थिए ।







प्रतिक्रिया