
१६ पुस ०७८, भक्तपुर । भक्तपुर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा बिहीबार भक्तपुर नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण गरेको हो ।
सो अवसरमा नगरप्रमुख सुनिल प्रजापतिले आयुर्वेद चिकित्सा पद्धति लिच्छविकालदेखि सुरु भएको नेपालको मौलिक चिकित्सा पद्धति भएको बताउँदै यसको प्रवद्र्धनका लागि नगरपालिकाले वडास्तरीय नागरिक आरोग्य केन्द्र सञ्चालन गरी निःशुल्क रूपमा आयुर्वेदिक औषधि वितरण गरिरहेको जानकारी दिए । आयुर्वेद स्वास्थ्यलाई राज्यले आफ्नो प्राथमिकतामा नराखेको गुनासो गर्दै नगरप्रमुख प्रजापतिले राज्यबाट सिंहदरबारको वैद्यखाना र नरदेवी अस्पतालको संरक्षण गरी टोलटोलमै आयुर्वेद केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका डा रत्नसुन्दर लासिवाले आयुर्वेद स्वास्थ्य उपचारबारे समुदायस्तरबाटै जनचेतना जगाउन आवश्यक भएको बताउँदै स्वास्थ्य स्वयंसेविकाले यसको महत्वबारे जनतालाई जानकार गराउनुपर्ने आवश्यकता रहेको औँल्याए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका कार्यालय प्रमुख नरेन्द्रप्रसाद गिरीले सरकारले आयुर्वेदिक चिकित्सा पद्धतिलाई वैकल्पिक उपचार विधिका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै भक्तपुर नपाले मौलिक आयुर्वेद चिकित्सालाई प्राथमिकतामा राखी आरोग्य केन्द्र सञ्चालनबाट आफूलाई हौसला प्रदान भएको बताए । केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्दै नेपालको मौलिक स्वास्थ्य विधिलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।







प्रतिक्रिया