९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँगुनारायणका प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला अभियान   



१६ पुस ०७८, भक्तपुर । चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला सञ्चालनको अभियान सुरु गरेको छ । नगरपालिका–८स्थित सुडालको स्वास्थ्यचौकीमा पहिलो आधारभूत प्रयोगशाला शुभारम्भका क्रममा यो अभियान सुरु भएको जानकारी दिइएको हो ।

नगरप्रमुख सोमप्रसाद मिश्रले विगतमा पिछडिएको सुडालमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै विकासका लहर फैलिएको बताए । उनले १० वटै वडाको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरिनाका साथै सबै वडाका स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना अभियान सुरुआत गरिएको र सुडाल स्वास्थ्यचौकीमा पनि प्रयोगशाला सञ्चालनमा आएसँगै स्वास्थ्यचौकी मिनी अस्पतालको रुपमा परिणत भएको बताए ।
नगर प्रमुख मिश्रले भने “हामी जनप्रतिनिधि भएर आएपछि जनताको इच्छा, चाहना र आवश्यकतालाई बुझ्दै अगाडि बढ्याैँ, यहाँको भौतिक विकास मात्रै नभई शैक्षिक, स्वास्थ्य र रोजगारीका क्षेत्रमा देशभरिका पालिकामध्ये नमूनाको काम गरेका छौँ, स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापनासँगै त्यहाँ एउटा मिनी अस्पताल निर्माण भएको छ ।”

वडाध्यक्ष परासर सापकोटाले स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना गर्ने नगरपालिकाको अभियानमा सुडाल स्वास्थ्यचौकी पहिलो भएको चर्चा गरे । आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले विनियोजन गरेको रकमबाट ल्याब सञ्चालनमा ल्याइएको बताउँदै उनले स्वास्थ्यचौकीलाई गुणस्तरीय बनाउन प्रयोगशालाले थप टेवा पुर्याउने बताए ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले अव स्वास्थ्यचौकीमा मधुमेह, युरिक एसिड, युरिया, क्रेटिनेन, बिल रूविन (जन्डिस), टोटल प्रोटिन, एल्बोमिन, टिजी, कोलेस्ट्रोल, हेमोग्लोबिन, आरए फ्याक्टर, सिआरपी टोटल काउन्ट, आरबिसी, इएसआर, युरिन, दिशा खकार जाँचटाइफाइड र एचआइभीको परीक्षण हुने बताए ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १२ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।