१९ पुस ०७८, काभ्रे । पाँचखाल क्षेत्रका किसान आफैँले उत्पाादन गरेको आलु र गोलभेँडाबाट परिकार उत्पादनतर्फ उन्मुख भएका छन् । आलुबाट ‘चिप्स’ तथा गोलभेँडाबाट ‘सस’ बनाउने कामले उनीहरुलाई उद्यमशिलतातर्फ डो¥याउँदैछ ।
एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आइपिएम) किसान पाठशालामा अध्ययन गरी तरकारीलगायत खाद्यान्नमा विषादी न्यूनीकरण गरिरहेका पाँचखालका किसानलाई लवग्रिन नेपाल नामक संस्थाले उद्यमीतर्फ प्रोत्साहित गरिरहेको छ । उक्त संस्थाले स्थानीय चार सहकारीका महिलालाई चिप्स र सस बनाउने तालिम प्रदान गरिसकेको छ । “क्रमशः अन्य सहकारीमा आवद्ध किसानलाई तालिमसँगै उद्यमी बनाउने अभियानमा छौँ, उद्यामी बन्ने किसानलाई सहकारीमार्फत लगानी गर्दै जानेछौँ”, लभग्रिनका कार्यकारी निर्देशक नारायण ज्ञवालीले भने ।
संस्थाले वातावरणमैत्री दीगो कृषि विकास परियोजना अन्तर्गत तालिम प्रदान गरेको जनाएको छ । किसानले सानो पूँजीले आफैंले उत्पादन गरेको तरकारीबाट घरमै थप परिकार निर्माण गरी आयआर्जन गर्न सकिने उद्देश्यले इन्छुक किसानलाई तालिम प्रदान गरिने ज्ञवालीले बताए । उनका अनुसार तालिममा जिल्लास्थित खाद्य तथा गुण नियन्त्रण कार्यालयले प्राविधिक सहयोग गरेको छ । किसानलाई उद्योगी बनाउने यस उद्देश्यले पाँचखाल नगरपालिकाको उत्पादनमूलक उद्योग स्थापना गर्ने उद्देश्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि लवग्रिन नेपालले पाँचखाल नगरका करिब एक हजार अगुवा किसानलाई विभिन्न चरणमा १८ महिने आइपिएम किसान पाठशालामा अध्ययन गराएको छ । उनीहरुलाई समय र मौसमको तालिका मिलाएर २२ थरिका आइपिएम प्रविधि पढाउनुको एउटै उद्देश्य हो, तरकारी तथा अन्यबालीमा रासायनिक विषादी न्यूनीकरण गर्दै पाँचखाल नगरको सबै क्षेत्रमा जैविक विषादी प्रयोगतर्फ लैजानु । तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण गर्न पाँचखाल नगरकै सामुदायिक तथा निजी माध्यमिक विद्यालयका विद्यार्थीलाईसमेत यो वर्ष सचेतना कार्यक्रमसमेत गरिँदै आइएको छ ।
विद्यालय तहदेखिनै विषादीबारे जानकारी, प्रयोग तथा असरबारे जानकारी गराउदा निकट भविष्यमा विषादी न्यूनीकरणमा ठूलो मद्दत पुग्ने अपेक्षासहित उक्त सचेतना सञ्चालन गरिएको जनाइएको छ । पाँचखालमा १३ सामुदायिक र सात निजी माध्यमिक विद्यालय छन् । लवग्रिन नेपालले मावि तहका विद्यार्थीलाई कक्षामै अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य, कृषि पर्यावरण प्रणाली तथा वातावरणमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट सचेतना गराउँदै आएको छ ।
“विद्यालय तहदेखिनै विषादीबारे सचेत गराउदा निकट भविष्यमै विषादी न्यूनीकरणमा मद्दत पुग्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गर्दै आएका छौँ”, ज्ञवालीले भने । पाँचखाल क्षेत्र तथा भारतको केरला राज्यमा केही वर्षअघिसम्म अनाधिकृत विषादी प्रयोगबाट परेको असर तथा हाल न्यूनीकरणपछिको अवस्थाबारे भिडियो, अडियो र डकुमेन्ट्रीमार्फत विद्यार्थीलाई जानकारी गराइदै आइएको छ ।
उक्त संस्थाले केही वर्षदेखि पाँचखालमा आइपिएम, पशु व्यवस्थापन तथा स्वस्थ दूध उत्पादनजस्ता किसान उपयोगी तालिम दिँदै आएको छ भने तरकारीमा विषादी तथा रासायनिक मल न्यूनीकरण गरी किसानलाई प्राङ्गारिक कृषि उत्पादनतर्फ लैजान निरन्तर प्रयासरत छ । पाँचखाल नगर ७ का शिवराज श्रेष्ठ तरकारीलगायत अन्यबालीमा रासायनिक विषादीको विकल्पमा आफैँ जैविक विषादी बनाएर बालीमा हाल्दै आउका छन् ।
“जैविक विषादी र मल बनाउन घरमा थेग्न सक्नेसम्म गाईबस्तु थप्ने गरेको छु, गाईबस्तुबाट जैविकताका लागि मलमूत्र महत्वपूर्ण हुन्छ”, उनले भने । उनले आफ्नो २० रोपनी खेतबारीमा जैविक विषादी प्रयोग गरी केही वर्षदेखि अग्र्यानिक तरकारी ‘सुरक्षित उत्पादन’ गर्दै आएका हुन् ।
पाँचखाल नगर ६ का किसान सीताराम दुलाल र केदार ढुङ्गानाको पनि बालीमा जैविक विषादी प्रयोग गर्ने तौरतरिका एउटै छ । “स्थानीयस्तरमा उपलब्ध जडीबुटीबाट जैविक विषादी तयार गरेर बालीमा प्रयोग गर्दा स्वस्थकर र उत्पादन लागत कम हुने गर्दै आएको छ”, ढुङ्गानाले भने । उनले आफैँ आफ्नो खेतबारीको माटो समयसमयमा परीक्षणसमेत गर्दै आएका छन् ।
किसानले आइपिएम कक्षामा सिकेर आफैँले तयार गरेको जैविक विषादी प्रयोग गर्न थालेपछि पाँचखाल क्षेत्रका तरकारीलबालीमा रासायनिक विषादी प्रयोगमा सचेत बन्दै न्यूनीकरणतर्फ लागेको बताइन्छ । किसान पाँचखालको तरकारीमा विषादी बढी हुन्छ भन्ने आफूहरुमाथि लाग्ने आरोप जैविक विषादीको प्रयोगबाट चिर्ने अभियानमा लागिरहेका छन् ।
सरकारी तथा निजीस्तरबाट सञ्चालित विभिन्न सचेतना कार्यक्रमले पाँचखालमा विषादी प्रयोग कम हुँदै गएको तथ्याङ्कले देखाएको छ । पाँचखालमा हाल उत्पादित तरकारीजन्य बाली विषादी रुकावट अवशेषको मापदण्डभित्रै रहेकाले ‘सुरक्षित उत्पादन’ भन्न थालिएको पाँचखाल नगरपालिका कृषि शाखाका कृषि प्रविधिक ईश्वर अधिकारी बताउछन् ।
उनी भन्छन्, “नियमित परीक्षणबाट मापदण्डभन्दा निकै कम प्रतिशत देखिएकाले पाँचखालको तरकारी प्राविधिक हिसाबले ‘सुरक्षित उत्पादन’मा सूचीकृत हुँदै आएको देखिन्छ ।” रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक विषादी प्रयोगमा लागेकोमा वातावरण प्रदूषण तथा मानव स्वास्थ्यमा पर्ने असर कम हुँदै जाने अपेक्षा गरिएको छ ।
पाँचखालका किसानलाई प्रयोगशालामा आफूले उत्पादन गरेको तरकारीको विषादी अवशेषको मात्र परीक्षण गर्न ल्याउन पनि सबैमा अपिल गर्दै आइएको छ । केन्द्रमा करिब दुई वर्षदेखि जिल्लाको विभिन्न स्थानको तरकारीको नमूना सङ्कलन गरी नियमित परीक्षण हुँदै आएको छ । सङ्कलित नमूनाको विषादी रुकावट अवशेष परीक्षणमापन गर्दा सुरक्षित मापदण्डभित्र रहँदै आएको जनाइएको छ । परीक्षणबाट पाँचखालको तरकारीमा विषादीको रुकावट प्रतिशत (इमिसन रेट) सरदर तीनदेखि नौ प्रतिशतसम्म झर्ने गरेको र १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेको हालसम्मको परीक्षण प्रतिवेदनले देखाएको जनाइएको छ ।
प्रदेशको काभ्रेपलाञ्चोकसहित चितवन, मकवानपुर, ललितपुर र नुवाकोट जिल्लामा आरबीपिआर ल्याब रहेको छ । बागमती प्रदशेको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टिनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्त कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया