२ माघ ०७८, काठमाडौं । अहिले कोरोना परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढी सङ्क्रमित उपत्यकामा देखिँदै आएका छन् । काठमाडौं उपत्यकामा शनिबार२२१९ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ संक्रमित थपिएका हुन् । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना सङ्क्रमित थप बढ्दै गए यसअगाडि सञ्चालनमा आएको सामाखुसीको आइसोलेसन सेन्टरलाई महानगरपालिकाले पुनः सञ्चालनमा ल्याउने बताए ।
उनका अनुसार महानगरपालिकाले विभिन्न सामुदायिक अस्पतालमा भेन्टिलेटर र अक्सिजन प्लान्ट जडान गरेको छ । तत्काल अस्पताल निर्माण गर्न नसकिए पनि काठमाडौँभित्रका विभिन्न सामुदायिक अस्पताललाई महानगरपालिकाले स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले कोरोनाको तेस्रो लहरबाट बच्नका लागि ललितपुर महानगपालिकाले उच्च सतर्कता अपनाएको बताउ । उनका अनुसार ललितपुर महानगरपालिकामा वडा नं. ४ स्थित बागडोलमा ११० शैय्याको अक्सिजनसहितको आइलोलेसन तयारी अवस्थामा छ । कतिपय सङ्क्रमितले अहिले त्यहीँबाट सेवा लिइरहेका छन् ।
कोरोनाका सङ्क्रमित र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको नियमित रूपमा पीसीआर गर्ने कार्य गरिरहेको र महानगरभित्र रहेका विद्यालयस्तरमा ४४ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने लक्ष्यसाथ अहिले धमाधम खोप सेवा सञ्चालन भइरहेका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने कार्यलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको बताए । उनका अनुसार भक्तपुर नगरपालिकाभित्र अहिले एक लाख ४१ हजार ३३९ मात्रा खोप प्रदान गरिएको छ ।
प्रतिक्रिया