१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सूर्यविनायक नगरका कर्मचारीलाई कोरोना, सेवा प्रभावित




७ माघ ०७८, भक्तपुर । सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना भाइरस सङ्क्रमण भएपछि सेवा प्रभावित बनेको छ ।
कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखसहितलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयले नियमितरुपमा दिँदै आएको सेवा प्रभावित भएको हो । नगरपालिका कार्यालय मात्रै नभई विभिन्न वडाका वडाध्यक्षसहित कर्मचारीलाई कोरोना भएपछि केही वडा कार्यालयसमेत बन्द भएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल, स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईंसहितका कर्मचारी, शिक्षा शाखाका सबै कर्मचारी, नक्सा शाखाका सबै कर्मचारी, योजना शाखाका सबै कर्मचारी र नगर प्रहरी नौ जनामा कोरोना सङ्क्रमण भएको नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए ।
सङ्क्रमित कर्मचारी होम आइसोलेसनमा छन् । कार्यालय खुला नै रहेको नगर प्रमुख वासुदेव थापाले जानकारी दिएका छन् । “कोरोना भएपछि कर्मचारी होम आइसोलेसनमा छन्, अत्यावश्यक बाहेक अरु सेवा दिन सकिएको छैन”, उनले भने । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या ह्वात्तै घटेको छ ।
सूर्यविनायक नगरपालिका १ का वडाध्यक्ष सानुकाजी कायस्थसहित कर्मचारीलाई सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । कर्मचारीलाई सङ्क्रमण देखिएपछि केही समयका लागि आलोपालो प्रणालीमा सेवा सञ्चालन गर्नेबारे छलफल भएको उनले बताएका छन् । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा पनि अत्यावश्यक बाहेकका सेवा प्रभावित भएका छन् । मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार अहिले जिल्लामा एक हजार १०० पुरुष र ९५१ महिला सक्रिय कोरोना सङ्क्रमित छन् ।

 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ३ : ५७ बजे