८ माघ ०७८, भक्तपुर । हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका ४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस २ का १८ वर्षीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार अवस्थामा रहिआएको प्रहरीले जानकारी दिएको छ ।
उनलाई भक्तपुरको दूधपाटीमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार २०६९ कात्तिक ८ गते स्थानीय गणेश निम्न माध्यमिक विद्यालयमा सांस्कृतिक कार्यक्रमका क्रममा दुई गाउँलेबीच झडप हुँदा प्रतिवादीसमेतले धारिलो हतियार प्रहार गरी एन्जलको हत्या गरेका थिए ।
अदालतले २०७४ असार १४ गते प्रतिवादी निलबहादुरलाई २० वर्ष कैद सजाय फैसला सुनाएको थियो । प्रहरीले यसअघि गत मङ्गलबार एन्जलको हत्यामा संम्लग्न भएका अर्का एक प्रतिवादी बेथानचोक गाउँपालिका ४ का फौदे भनिने २५ वर्षीय पोते तामाङलाई पक्राउ गरेको थियो । उनलाई पनि जिल्ला अदालतले सोही दिन २० वर्ष कैद फैसला सुनाएकामा कार्यान्वयनका लागि अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया