१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वसन्तपुरको गद्दीबैठक तत्काल नखुल्ने




१० माघ ०७८, काठमाडौं । वसन्तपुरस्गिथ हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले यसै हप्तादेखि गद्दीबैठकको तल्लो तलामा शुरु गर्न लागेको एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बिर प्रदर्शनी स्थगित गरिएको छ ।
समितिले माघ दोस्रो सातादेखि नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनस्र्थापनाका विभिन्न घटनाक्रमका तस्बिरको प्रतिलिपि प्रदर्शनीमा राख्ने तयारी भएको थियो ।
नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि गत शुक्रबार रातिदेखि सरकारले राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो । सङ्ग्रहालयसमेत बन्द भएकाले अर्को सूचना नभएसम्मका लागि एकीकरणदेखि लोकतन्त्रसम्मका सामग्रीको प्रदर्शनी पनि स्थगित गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले राससलाई जानकारी दिएका छन् ।
यो प्रदर्शनीसँगै गद्दीबैठक पनि सर्वसाधारणका लागि खुला गर्ने कार्यालयको तयारी थियो । सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दीबैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दीबैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो । भूकम्पसँगै बन्द रहेको गद्दीबैठक यसपटक खोल्न कार्यालय तयारी गरेको थियो ।
पृथ्वीवीर विक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न गद्दीबैठक उपयोग गरिन्थ्यो । राजदरबार नारायणहिटी सरेपछि गद्दीबैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रुपमा उपयोग हुने थालेको थियो । गद्दीबैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको थियो ।

 

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ३२ बजे