१२ माघ ०७८, काठमाडौँ । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने दुई अर्ब ६१ करोड रूपैयाँसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न प्रसारणलाइन तथा सबस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ।
बैठकले भोजपुरस्थित नेपाली सेनाको फस्ट राइफल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीयको स्वामित्वमा रहेको करिब २० रोपनी १५ आना दुई दाम जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गरेको छ।
कञ्चनपुर र कैलालीमा एकीकृत फोहरमैला व्यवस्थापन प्लान्ट स्थापनाका लागि शुक्लाफाँटा नगरपालिका र गोदावरी नगरपालिकाको वनक्षेत्रभित्र पर्ने जग्गा प्रयोग गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने तथा लोकसेवा आयोगको सिफारिसमा विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिवमा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय पनि गरेको छ।
प्रतिक्रिया