२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सडकको खाल्टोमा परेर गैंडा मरेपछि ठेकेदारविरुद्ध पक्राउ पुर्जी




१४ माघ ०७८, चितवन । निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोकको टिकौली जंगल नजिक नालीमा फसेर मरेको गैंडाको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले ठेकेदार विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने टिकौली जंगल नजिक सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर ९ माघमा एउटा भाले गैंडा मरेको थियो ।
ठेकेदारको लापरबाहीका कारण गैंडाको मृत्यु भएको भन्दै निकुञ्जले सडक विस्तारको जिम्मा लिएको इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको हो ।
समाचार तयार पार्दासम्म खड्का पक्राउ नपरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले जानकारी दिए । ‘बिहिबार पक्राउ पुर्जी जारी भएको हो । अहिलेसम्म पक्राउ गरिएको छैन । उहाँ आफै आउनुहोला, नत्र हामी पक्राउ गर्छाैँ’, उनले भने ।

उक्त घटनाको विषयमा अनुसन्धान गर्न निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ भने वन तथा वातावरण मन्त्रालयले घटनाको छानविन गर्न ११ माघमा छुट्टै कार्यदल गठन गरेको छ ।
वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको हो ।
समितिमा मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहेका छन् ।
समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ४ : ११ बजे