१२ पुस २०८२, शनिबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आफैंले हत्या गरेर आमाको खोजतलास गर्न छोरा गएपछि…




२० माघ ०७८, काठमाडौं । गत १४ माघमा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन प¥यो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक (डिएसपी) दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको खोजतजाल गरी पाउँ ।’
निवेदका थिए– ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (पहिचान गोप्य राखिएको) । उनीहरूले प्रहरी गुहारेको भनेको ९० वर्षीया आमा जगमाया श्रेष्ठको खोजतलासका लागि हो । निवेदनमा जगमाया हराएको भनिएको मिति दुई दिनअघि अर्थात् १२ माघको थियो । उनीहरूको घर पथरी–शनिश्चरे नगरपालिका–२ हो ।
निवेदन परेपछि प्रहरी अनुसन्धानमा जुट्यो । अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न नजिक पुग्ने ‘क्लु’ हरूको खोजी गर्छ नै । सोहीक्रममा स्थानीयसँग १४ माघमै प्रहरी टोलीले सोधपुछ ग¥यो ।
डिएसपी श्रेष्ठ भन्छन्, ‘सोधपुछको क्रममा जग्गा विवाद आमा र छोरा कमलबीच रहेको कुरा स्थानीयबाट खुल्यो ।’ यही ‘क्लु’ को आधारमा प्रहरीको अनुसन्धान कमलतिर केन्द्रित ग¥यो ।
प्रारम्भिक अनुसन्धानको क्रममा कमलले दिएको बयान उद्धृत गर्दै डिएसपी श्रेष्ठले भने, ‘घटना भएको समय १२ माघ बिहान ४ बजे हो । वृद्धावस्थाकी आमा जगमायालाई उठाएर कमलले आँगनमा लगे । त्यहीँ घाँटी थिचेर हत्या गरे । त्यसपछि प्लास्टिकमा पोको पारेर शव गाडीमा राखे । अनि, गाडीमा लगेर नजिकैको हरियाली सामुदायिक वन क्षेत्रमा रहेको घाटमा जलाए ।’

यसरी एउटा ‘क्लु’का आधारमा प्रहरी अनुसन्धान छोरा कमलतिर सोझियो र प्रारम्भिक अनुसन्धानको क्रममा हत्या घटना स्वीकारेको डिएसपी श्रेष्ठ बताउँछन् ।

उनका अनुसार घटनामा संलग्नता स्वीकारेपछि भने कमलले आमालाई जलाएको ठाउँमा प्रहरीलाई लगे । जहाँबाट आमाको जल्न बाँकी रहेको खप्पर र शरीरको पछिल्लो भाग प्रहरीले बरामद गरेको छ । बरामद खप्परसहित शरीरका अंगलाई परीक्षणका लागि प्रहरीले विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको छ ।
घटनाको मूल कारण जग्गा विवाद रहेको खुलेको छ । ‘बुबाको नाममा १५ कट्ठा ९ धुर जग्गा रहेछ । उनको निधनपछि उक्त जग्गा कमलले सुटुक्क श्रीमतीको नाममा दर्ता गरेको खुल्न आएको छ । र, यो रहस्य थाहा पाएपछि आमा जगमाया र दाइले अदालतमा मुद्दा दर्ता गरेको र अदालतले आमाको नाममा पाँच कट्ठा जग्गा हुने भन्ने फैसला गरेको रहेछ’, डिएसपी श्रेष्ठ भन्छन्, ‘सोही कारण आमाको हत्या गर्न पुगेको देखिन्छ । थप कुरा खुल्दै जाला । हामी अनुसन्धानमै छौँ ।’
प्रहरीले जिल्ला अदालत मोरङबाट छोरा कमलविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि १० दिनको म्याद थपको अनुमति पाएको छ । न्युज कारखाना

 

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।