२० माघ ०७८, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएको छ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको तामाङको साथबाट वास्तविक नम्बर परिवर्तन गरी बाप्र ०२,०२५ प १३१८ नम्वर हालेको अवस्थामा कालो रातो रंङको २२० सीसीको पल्सर मोटरसाइकल समेत बरामद गरेको जानकारी दिए।
अनुसन्धान पश्चात वास्तविक नम्बर बाप्र०२, ०२९ प ५२०९ भएको उक्त मोटरसाइकल यही पुस १४ गते भक्तपुर निलबाराहीबाट हराएको खुलेपछि मोटरसाइकल धनी भक्तपुर बस्ने रामचन्द्र नेपाललाई सम्पर्क गरेको उनले बताए।
त्यसैगरि ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्वरको कालो सेतो रङको २०० सीसीको डुक मोटरसाइकलसहित सुर्खेतका महतरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। महतराले उक्त मोटरसाइकलको वास्तविक नम्बरप्लेट भने परिवर्तन गरेका थिए।
तार्केश्वरका प्रज्वल बोगटीको वास्तविक नम्बर बा ९९ प ४८८२ भएको उक्त मोटरसाइकल काठमाडौंस्थित भृकुटीमण्डपबाट हराएको भनि ट्राफिक प्रहरी महाशाखामा हुलिया निवेदन दिएका थिए।
मोटरसाइकलसहित पक्राउ परेका महतरालाई चोरी मुद्दा अनुसन्धान एवम् कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ।
प्रतिक्रिया