१५ फाल्गुन २०८०, मंगलबार | Wed Feb 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकाको फोहर सिसडोलबासीको अवरोधपछि पाँच दिनदेखि उठेन



फाइल तस्विर

५ फागुन ०७८,नुवाकोट । नुवाकोटका सिसडोलबासीको अवरोध कारण यही फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाको फोहर उठ्न सकेका छैन । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका स्थानीयवासीले गरेको अवरोधका कारण फोहर उठ्न नसकेको हो ।
पाँच दिनदेखि फोहर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ । यता काठमाडौँ महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गर्न र स्थानीयवासीलाई अवरोध हटाइदिन माग गरेको छ ।
उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटक–पटक समस्या उत्पन्न भएको काठमाडौं महानगरका वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार विसं २०७० देखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयवासीले आन्दोलन गर्दा फोहर विसर्जनमा अवरोध हुने गरेको छ । “यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, उनले भनिन्, “त्यसका लागि बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।”
सडक बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहर पटक–पटक रोकिँदा गाली कामपाले खाने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या भएको महानगरको भनाइ छ ।

म्हानगरले नियमितरूपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधान खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्षाको समयमा ठूलो समस्या आउने जनाएको छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हँदै आएको छ । उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ८ : ४० बजे