८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्डको ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयप्रति श्रेष्ठ र पोखारेलको गम्भिर असहमति




१५ फागुन ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र लिलामणी पोखरेलले आइतबार विहान पार्टीले गरेको ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन् ।
यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान बसेको बैठकमा ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।
‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।
पार्टीको निर्णयपछि कुरा गर्दै एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने बताए ।
एमसीसीमा टिप्पणीसहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्ने नेता पोखरेलको भनाई छ ।

सम्झौता संशोधन वा परिमार्जनमध्ये आफुहरुको माग पुरा नहुने र सम्झौता संशोधनको अर्थ पनि नरहने उनले तर्क गरे ।
व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केहि नेताहरु पनि असन्तुष्ट रहेको तर आफुले नाम भन्न नचाहेको पोखरेलले बताए ।
माओवादी केन्द्रले यसअघि एमसीसीलाई हालकै अवस्थामा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो । एमसीसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने अडान माओवादीले लिएको थियो ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको बिपक्षमा मतदान गरे गठबन्धन तोड्ने बताएपछि माओवादीको आजको बैठकले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो ।
‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं । यो महाधिवेशनको बिरुद्ध छ र गलत छ,’ श्रेष्ठले भनेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : ०९ बजे