८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पशुपतिनाथमा करिब १० लाखले गरे दर्शन



महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनलाई सजिलो होस भनि व्यवस्थापन गरिएको मन्दिर परिसर । तस्बिर : रत्न श्रेष्ठ\रासस

१८ फागुन ०७८, काठमाडौँ । यस पल्ट पशुपतिमा बिजुली बत्तीको आकर्षण हेर्न बेलुकी भक्तजन ओइरिएसँगै करिव १० लाखले दर्शन गरेका छन् । पशुपतिनाथ मूल मन्दिर प्रवेश गरी करिब १० लाख भक्तजनले दर्शन गरेको कोषले जनाएको छ महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मूल मन्दिरमा विधिपूर्वक चार प्रहर पूजा गरिएको छ ।
महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन ।
मङ्गलबार बेलुकी सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजाआज आज बिहान ५ः१० बजे सकिएको मन्दिरभित्र कार्यरत कोषका वरिष्ठ सहायक वरुण खतिवडाले जानकारी दिएका छन् । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा मङ्गलबारदेखि सुरु भएको भक्तजनको भीड आज बिहानसम्म पनि कायम रहेको थियो । आज बिहान ६ बजेपछि भने पशुपति क्षेत्रमा केही मात्रामा भक्तजन घटेको कोषले जनाएको छ ।
राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म भक्तजन लाइनमा बसेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर चार प्रहर पूजा समापन गरिन्थ्यो । यो वर्ष भने धेरै भक्तजन राति लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उनले बताए ।
भत्कियो भष्मेश्वर घाट नजिकको वाग्मती पुलको पर्खाल

 

पशुपतिनाथबाट वाग्मतीपारिको राममन्दिर क्षेत्र जाने पुलको उत्तरतर्फको पर्खाल भक्तजनको ठेलमठेलले राति भत्किएको प्रवक्ता अधिकारीले जानकारी दिए । भष्मेश्वर घाटतिरको पुलको पर्खाल भत्किँदा दुई भक्तजन वाग्मती नदीमा खसेका थिए । खसेकामध्ये एक जना काठमाडौँ मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् । एक जना घाइते उपचाररत छन् । उनको स्वास्थ्य स्थिति सामान्य छ ।
पशुपतिनाथ मन्दिरमा मङ्गलबार बिहान ३ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । भक्तजनको मागअनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको थियो । पशुपति क्षेत्रमा मङ्गलबार बिहानदेखि लागेको भीड आज बिहानसम्म पनि उत्तिकै रहेको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । महाशिवरात्रिमा विशेषगरी बेलुकीदेखि भोलिपल्ट बिहानसम्म नै भक्तजनको भीड लाग्ने गर्छ । बिजुली बत्तीको झिलीमिलीले पशुपति क्षेत्रलाई आकर्षक बनाएको थियो । रात्रिमा पशुपतिनाथमा विधिपूर्वक चार प्रहरको पूजा गरिने भएकाले भक्तजनको भीड लाग्ने गरेको हो ।

फाइल तस्विर । लेन्स: ललितपुर खबर

पशुपति क्षेत्रमा बिहान र दिउँसोभन्दा राति धेरै भक्तजन आएको गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । राजलवटले महाशिवरात्रिका अवसरमा बिहानदेखि रातिसम्म गुर्जोलगायत ६० प्रकारका जडीबुटीबाट बनेको चिया भक्तजनलाई खुवाउनुभएको थियो । गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलोका पोका पनि भक्तजनलाई निःशुल्क वितरण गरिएको उनले बताए ।
गोकर्णेश्वरमा जम्मा भए हजारौँ भक्तजन
यसैगरी गोकर्णेश्वर महादेव मन्दिरमा पनि मङ्गलबार रातिसम्म नै भक्तजनको भीड लागेको थियो । गोकर्णेश्वर मन्दिर क्षेत्रलाई पनि बिजुली बत्तीले झिलीमिली बनाइएको थियो । पशुपतिनाथमा श्रीयन्त्रको पूजा आराधना हुने र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने गर्छ । श्रीयन्त्रको पूजा आराधनामा सहभागी हुनेले फल प्राप्तिका लागि बालयन्त्रको पूजा आाराधनामा पनि सहभागी हुनुपर्ने शास्त्रीय मान्यता भएकाले पनि पशुपतिनाथ आएका केही भक्तजन गोकर्णेश्वर आउने गर्छन् ।

महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दूका लागि सबैभन्दा महत्वपूर्ण र पवित्रस्थल काठमाडौँको पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने शुक्रबार दर्शनार्थीहरुको भीड । तस्वीर :रोशन सापकोटा\रासस

भक्तजनका कारण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा जम्मा भएको फोहर आज बिहान सफाइ गरिने भएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सफाइ गर्न लागिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । मञ्चले गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएको छ । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको मञ्चले प्रत्येक हप्ताको शनिबार नियमितरूपमा बिहान दुई घण्टा गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गर्छ ।
नागेश्वरमा पनि भक्तजनको भीड
नागेश्वर महादेव मन्दिरमा पनि मङ्गलबार बिहान ३ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । नागेश्वरमा ६ ब्राह्मणद्वारा चारै प्रहर पूजा आराधना एवं रुद्राभिषेक गरिएको थियो । उक्त पूजा प्रत्येक वर्ष महाशिवरात्रिका अवसरमा गरिन्छ । नागेश्वरमा महाशिवरात्रिका अवसरमा रातिसम्म नै भक्तजनको भीड लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीले जानकारी दिए ।
मन्दिरमा बिहानदेखि रातिसमम हजारौँ भक्तजनले पूजा आराधना एवं दर्शन गरेका छन् । महाशिवरात्रिमा नागेश्वरको दर्शन गर्नाले मुद्दा मामिलाबाट छुटकारा पाउनुका साथै श्री प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको अध्यक्ष रायमाझीले बताए । यसैगरी राजधानी र देशभरका शिवालयमा पनि रातिसम्म नै भक्तजनको भीड लागेको थियो । मध्यरातमा फागुन कृष्ण चतुर्दशी तिथि परेका दिन प्रत्येक वर्ष महाशिवरात्रि पर्व पर्छ ।
रासस

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ९ : ५८ बजे