१४ पुस २०८१, आइतबार | Sun Dec 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ताराचन्द्र बजगाइँ ‘निशान’ कांग्रेस मकवानपुरको ‘कान्छो पदाधिकारी’




२० फागुन ०७८, मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सहसचिवमा निर्वाचित ताराचन्द्र बजगाइँ ‘निशान’ ‘कान्छो पदाधिकारी’ रहेका छन् । विद्यार्थी संगठनबाट औपचारिक रुपमा राजनीति थालेका ३४ वर्षीय बजगाइँ १६ फागुनमा भएको जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका हुन् । बुद्ध लामा सभापतिमा निर्वाचित हुँदा उनी सहसचिवमा विजयी भएका हुन् ।
लामा र बजगाइँ संस्थापन समूह (देउवा समूह)बाट पदाधिकारीमा निर्वाचित भएका हुन् भने बाँकी संस्थापनइतर समूहबाट विजयी भएका छन् । ‘सहसचिवमा निर्वाचित भएपछि जिल्लाको कान्छो पदाधिकारी बनेको छु,’ उनले भने ।
टेलिसिरियल मेरी बास्सैकी मैयाँ अर्थात् सुनीता गौतमका श्रीमानसमेत रहेका बजगाइँ कलाकारिता र समाजसेवा गर्दै राजनीतिमा सक्रिय छन् ।
२०६१ सालमा पशुपति बहुमुखी क्याम्पस चावहिलको नेविसंघ इकाइ उपसभापति जिम्मेवारी सम्हालेर औपचारिक रुपमा राजनीतिमा सक्रिय भएका उनी अहिले कांग्रेस मकवानपुरको सहसचिवको जिम्मेवारी पाएका छन् ।
गत मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधिसमेत बनेका उनी अहिले जिल्लामा सक्रिय रुपमा राजनीतिमा होमिएका छन् । उनी कोरोनाभाइरस संक्रमण महामारीमा आइसोलेसन सेन्टर निर्माण गरेर समाजसेवामा खटिएका थिए ।

मेरी बास्सैमा समेत अभिनय गरेका उनी चलचित्र ‘वडा नम्बर छ’, ‘छ एकान छ’को १, २ र ३ तथा ‘छ माया छपक्कै’ निर्मातासमेत हुन् । उक्त चलचित्रले उनलाई सफल निर्माता बनायो ।
उनी बागमती–३ मा रहेको बुद्ध माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत हुन् । पद पाउनुभन्दा जिम्मेवारी पूरा गर्नु महत्वपूर्ण रहेको भन्दै उनले आफूले पाएको विद्यालय र पार्टीप्रतिको कर्तव्य र जिम्मेवारी पूरा गर्ने बताए । यसका लागि श्रीमती मैयाँसहित परिवारको साथ पाएको र पाइरने निशान बताउँछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : ४४ बजे