११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुढानीलकण्ठमा रावतको हत्या आरोपमा दुई जना पक्राउ




२१ फागुन ०७८, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–४ चण्डेश्वरी बनस्थली बस्ने जुम्ला तातोपानी गाउँपालिका–७ घर भएका मदे भन्ने ३२ वर्षीय मान बहादुर रावतको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका–५ बस्ने २३ वर्षीय याकुब चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका–८ घर भएका १६ वर्षीय किशोर रहेका छन् ।
बुढानीलकण्ठ नगरपालिका ५ स्थित दुलाल गाउँ हाल श्रीनगर टोलमा गत मंगलबार मान बहादुर रावतको रगताम्य अवस्थामा शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा गत फागुन १६ गते राति बुढानीलकण्ठ नगरपालिका–५ स्थितमा मान बहादुरसँग भेट हुँदा याकुबले लागुऔषध खरिद गर्न नगद ३५ हजार रूपैयाँ दिएको र मान बहादुरले लागूऔषध नल्याएको विषयमा विवाद हुँदा उनीहरूले मान बहादुरलाई कुटपिट र बाँसको लठ्ठी प्रहार गरी गम्भीर घाइते बनाई दुवैजना फरार भएका खुल्न आएको हो ।

प्रहरीले घटनामा प्रयोग भएको १ थान बाँसको लठ्ठी समेत बरामद गरेको छ ।
उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।