२४ फागुन ०७८ भक्तपुर । भक्तपुरमा हत्या गरेको अवस्थामा एक भेटिएकी महिलाको शव काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका–९ की २८ वर्षीया जेनिशा नगरकोटीको रहेको खुलेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनी श्रीमानसँग भक्तपुर नगरपालिका–१० भोलाछेमा बस्दै आएकी थिइन्।
उनीहरू ज्याला मजदुरीको काम गर्थे। शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा उनका श्रीमान फेला परेपछि जेनिशाको सनाखत भएको हो। उनका श्रीमान राजु लामा रहेको खुलेको छ।
सोमबार राति ९ः५० बजे चाँगुनारायण नगरपालिका–७ बागरेमा हत्या गरेको अवस्थामा जेनिशाको शव फेला परेको थियो।
तरकारी खेतीमा काम गर्नेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको टहराभित्र शव फेला परेको थियो। उनको घाँटी अगाडिको भागमा गहिरो चोट देखिएको छ । हत्यामा धारिलो हतियार प्रयोग भएको देखिएको छ।
शरीर अर्धनग्न अवस्थामा फेला परेको छ। हत्यापछि परालले शव छोपेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ ।
उनीहरूका एक छोरा छन्। पाँच वर्षीय छोरा काठमाडौं चाल्नाखेलस्थित मावलीमा बस्दै आएको खुलेको छ।
यता श्रीमान लामाले भने प्रहरीसँग नगरकोटी केही दिनयता कोठामा नभएको बताएका छन्।
प्रतिक्रिया