२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मकवानपुरका ५ स्थानीय तहमा धमाधम अस्पताल निर्माण हुँदै



२५ फागुन ०७८, मकवानपुर । मकवानपुरका पाँच स्थानीय तहमा अस्पताल निर्माण कार्य द्रुतगतिमा अगाडि बढेको छ ।
यसका लागि चार वटा स्थानीय तहमा जग्गा छनोट तथा बोलपत्र भई अस्पताल भवन निर्माण भइरहेको छ, भने एक स्थानीय तहको जग्गा छनोट प्रक्रिया अगाडि बढेको छ ।
गत वर्ष मङ्सिर १५ गते देशभरिका ३९६ स्थानीय तहमा एकै दिन शिलान्यास गरिएको अस्पताल निर्माण कार्यअन्तर्गत मकवानपुरका पाँच स्थानीय तहमा पनि यसको निर्माण कार्य सुरु भएको बताइएको छ । इन्द्रसरोवर गाउँपालिकाबाहेक थाहानगरपालिका, राक्सिरागङ गाउँपालिका, मनहरि गाउँपालिका तथा कैलाश गाउँपालिकाले अस्पताल निर्माण कार्यलाई तीव्रता दिएको बताइएको छ ।
थाहा नगरपालिकामा रु १२ करोड ५६ लाखको लागतमा थाहानगरको वडा नं ४ मा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । नगरप्रमुख लवशेर विष्टले जग्गा खोजी र डिपिआर बनाउनका लागि समय खर्च भएपनि विसं २०८० को वैशाख महिनासम्ममा अस्पताल निर्माण भइसक्ने बताए ।
मनहरि गाउँपालिका ७ मनहरि बजारमा जीर्ण अस्पताल रहेको र त्यसलाई भत्काएर सोही स्थानमा रु १० करोड १५ लाखको लागतमा १५ शय्याको अस्पताल निमार्ण कार्य सुरु भएको छ । अस्पतालको जीर्ण भवन भत्काएपछि अस्थायी भवन निमार्णमा पनि समय लागेको थियो । अहिले नयाँ अस्पताल भवन निर्माण कार्य सुरु भएको सो गाउँपालिकाले जनाएको छ ।

राक्सिरागङ गाउँपालिका ५ स्थित ठाडेभिरमा अस्पताल निर्माण कार्य गरिरहेको सो गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । जिल्लाको विकट क्षेत्रको रुपमा रहेको सो गाउँपालिकाले रु ६ करोडको लागतमा १० शय्याको अस्पताल भवनको निर्माण कार्य अगाडि बढाएको बताउँदै उहाँले आगामी दुई वर्षभित्रमा त्यसको निमार्ण कार्य सम्पन्न हुने जानकारी दिए ।
यसैगरी जिल्लाको विकट क्षेत्र रहेको कैलाश गाउँपालिकाले पनि रु पाँच करोड ९२ लाखको ठेक्का सम्झौता गरी १० शय्याको अस्पताल भवन निर्माण कार्य सुरु गरेको जनाएको छ । कैलाश गाउँपालिका ३ कालिटारमा निमार्ण भइरहेको सो अस्पतालका लागि गत जेठमा ठेक्का सम्झौता गरी गत असोजबाट अस्पताल भवन निर्माण कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले बताए ।
यता इन्द्रसरोवर गाउँपालिकाले जग्गा अभावका कारण अहिलेसम्म अस्पताल भवनको निर्माण प्रक्रिया सुरु गर्न सकेको छैन । इन्द्रसरोवर गाउँपालिका २ कुलेखानी ड्याम नजिक नेपाल विद्युत् प्राधिकरणको ७ रोपनी जग्गा उपयुक्त देखिए पनि गाउँपालिकाको स्वामित्वमा ल्याउने प्रक्रिया सुरु गरिएको छ । तर प्राधिकरणको ढिलाइले अस्पताल निर्माणमा समस्या आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले बताए । इन्द्रसरोवरमा रु ८० लाखको लागतमा पाँच शय्याको अस्पताल निर्माण गर्ने योजना रहेको सो गाउँपालिकाले जनाएको छ ।
रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : २२ बजे