११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हेलिकप्टरले निभायो डढेलो



फाइल तस्विर

२५ फागन ०७८, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका २ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतबार दिउँसोबाट लागेको डढेलो चार दिनपछि नियन्त्रणमा आएको वडा नं २ का वडाध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिएका छन् ।
हेलिकप्टर, स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा चार दिनपछि उक्त डढेलो नियन्त्रणमा लिन सफल भएको गाउँपालिकाले जनाएको छ । स्थानीयवासीले आगो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि अग्निनियन्त्रक सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको वडाअध्यक्ष शेर्पाले बताए । गाउँपालिकाको पहलमा ल्याइएको उक्त हेलिकप्टरले आगो नियन्त्रणका लागि ९५ हजार लिटर पानी प्रयोग गरेको थियो ।
आगो तीव्र गतिमा फैलिँदा धुवाँका कारण सोमबार बिहान करिब एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नु परेका थियो । आगोका कारण सल्ला, उत्तीसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको भए पनि के कति क्षति भयो भन्ने यकीन गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

आगलागीका कारणबारे अनुसन्धानसँगै क्षतिको यकीन विवरण तयार गर्ने काम भइरहेको वडाध्यक्ष आङफुर्वा शेर्पाले बताए । आगोका कारण नाक्चुङ गाउँका १३ घर उच्च जोखिममा परेका थिए । बस्ती जोगाउनका लागि सबै संयन्त्र प्रयोग गरी काम गरेको गाउँपालिका कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।